विराटनगर । थवाङ–जलजला क्षेत्रमा भएको भयावह जिप दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड आफ्ना सम्पूर्ण राजनीतिक कार्यक्रम स्थगित गरी पीडित परिवारको सेवामा जुट्नुभएको छ।
केही दिनअघि मात्र राजनीतिक कार्यक्रमका सिलसिलामा पश्चिम रुकुम पुग्नुभएका संयोजक प्रचण्ड, पूर्वी रुकुमबाट जलजलेतर्फ तीर्थयात्रामा निस्किएका यात्रु सवार जिप थवाङमा दुर्घटना भएको खबर लगत्तै उद्धार र राहत कार्यमा सक्रिय हुनुभएको हो। यो दुखद घटनाले देश नै स्तब्ध भएको भन्दै उहाँ निकै भावुक बन्नुभएको छ।
दुर्घटनामा ज्यान गुमाएका २० जनामध्ये आज आठ जनाको पोस्टमार्टम सम्पन्न भएको छ भने पाँच जनाको शव आफन्तलाई जिम्मा लगाइएको छ। संयोजक प्रचण्ड आफैँ अस्पताल र सम्बन्धित क्षेत्रमा उपस्थित भई मृतकका शव परिवारलाई बुझाउने र शोकमा डुबेका आफन्तजनलाई सान्त्वना दिने कार्यमा तल्लीन हुनुहुन्छ।
“यो अकल्पनीय दुःखको घडीमा हामी सबै एकजुट भएर पीडितको घाउमा मलम लगाउनुपर्छ,” भन्दै उहाँले आफ्ना पूर्वनिर्धारित सबै राजनीतिक भेला र कार्यक्रमहरू स्थगित गरेर मानवीय सेवालाई प्राथमिकता दिनुभएको छ। तीर्थयात्री बोकेको जिप दुर्घटनामा पर्दा भएको ठूलो मानवीय क्षतिले सिङ्गो पार्टी र देशलाई नै मर्माहत तुल्याएको भन्दै उहाँले मृतकप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ।
अहिले संयोजक प्रचण्ड पीडित परिवारको साथमा रहेर शव व्यवस्थापन, घाइतेको उपचार समन्वय र परिवारलाई ढाडस दिने कार्यमा अहोरात्र खटिरहनुभएको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।