लोड हुँदैछ...

मेनु

मई दिवसमा उद्योग संगठनद्वारा तीन श्रमिक सम्मानित

मई दिवसमा उद्योग संगठनद्वारा तीन श्रमिक सम्मानित

विराटनगर । उद्योग संगठन मोरङले सुनसरी–मोरङ औद्योगिक करिडोरका तीन जना श्रमिकलाई सम्मान गरेको छ । संगठनले बुधबार १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा विराटनगरमा एक विशेष समारोहको आयोजना गरी उद्योग क्षेत्रमा दीर्घ सेवा पु¥याएबापत उनीहरूलाई नगदसहित सम्मान गरेको हो ।

नेपाल लिकर्स प्रा.लि.मा २५ वर्षदेखि कार्यरत मायावती थारु, स्वस्तिक जुट मिलमा २५ वर्षदेखि कार्यरत मोहम्मद इद्रिस मिया र जयश्री पोलीमर्समा २० वर्षदेखि कार्यरत सीतादेवी लामिछानेलाई सम्मान गरिएको हो । उनीहरूलाई संगठनका अध्यक्ष नन्दकिशोर राठी, निवर्तमान अध्यक्ष राकेश सुराना, वरिष्ठ उपाध्यक्ष भोलेश्वर दुलाललगायतले सम्मानपत्र र नगद प्रदान गरे ।

कार्यक्रममा अध्यक्ष राठीले मई दिवसलाई संघर्ष र सामाजिक न्यायको प्रतीकका रूपमा स्मरण गर्दै उद्योग र श्रमिकबीचको सन्तुलित सम्बन्धले नै औद्योगिक विकास सम्भव हुने बताए । “उद्योग संगठनले श्रमिकको हकहित र उद्योगीबीच सेतुको भूमिका निर्वाह गर्दै आएको छ,” उनले भने, “यसैको परिणामस्वरूप यस क्षेत्रमा रोजगारदाता र ट्रेड युनियनबीच सुमधुर सम्बन्ध कायम छ ।”

संगठनका उपाध्यक्ष सुवोध कोइरालाले परिवर्तनशील विश्व परिवेश र प्रविधिको विकाससँगै श्रमिक र व्यवस्थापनबीच अझ घनिष्ठ सहकार्य आवश्यक रहेको औँल्याए । उनले आपसी समन्वयले उत्पादकत्व वृद्धि हुनुका साथै श्रमिकको मनोबलसमेत उच्च हुने विचार व्यक्त गरे । नेपाल ट्रेड युनियन कांग्रेस मोरङका अध्यक्ष सुशील कोइरालाले श्रमिकको अधिकार सुनिश्चित गरेर मात्र उद्योगको दिगो विकास गर्न सकिने बताए । उनलेसंवाद र पारदर्शितालाई सहकार्यको मुख्य आधार बनाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा विभिन्न ट्रेड युनियनका प्रतिनिधि, पूर्व अध्यक्षहरू र उद्योगीहरूको सहभागिता रहेको थियो । संगठनले हरेक वर्ष श्रमिक दिवसको अवसरमा यस्ता रचनात्मक कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।