विराटनगर । उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले श्रमिकहरूको मेहनत र लगनशीलताका कारण नै मुलुकका उद्योगधन्दाहरू सञ्चालन हुन सम्भव भएको बताएका छन् ।
१३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा जिफन्ट कोशी प्रदेश कमिटीद्वारा विराटनगरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै अध्यक्ष राठीले यस्तो बताएका हुन् ।
अध्यक्ष राठीले उद्योगको विकास र उत्पादकत्व वृद्धिमा श्रमिकहरूको भूमिका प्रमुख रहने उल्लेख गर्दै श्रमिक र रोजगारदाताबीचको सुमधुर सम्बन्धमा जोड दिए । ‘श्रमिकहरूको पसिना र समर्पण बिना कुनै पनि उद्योग सफल हुन सक्दैन,’ उनले भने, ‘श्रमिकको हकहित र उनीहरूको जीवनस्तर सुधारका लागि उद्योग संगठन मोरङ सधैं सकारात्मक र प्रतिबद्ध छ ।’
सम्बोधनका क्रममा राठीले औद्योगिक शान्ति र विकासका लागि श्रमिक र उद्योगी दुवै पक्षले एकअर्काको अस्तित्वलाई सम्मान गर्नुपर्ने बताए । उनले श्रमिकको सुरक्षा र अधिकार सुनिश्चित गर्दै उद्योगहरूलाई प्रतिस्पर्धात्मक बनाउन संगठनले निरन्तर काम गरिरहेको समेत जानकारी दिए ।
जिफन्ट कोशी प्रदेशले आयोजना गरेको उक्त कार्यक्रममा कोशी प्रदेशका विभिन्न औद्योगिक क्षेत्र, कलकारखाना र प्रतिष्ठानहरूमा कार्यरत ठूलो संख्यामा श्रमिकहरूको सहभाागिता रहेको थियो । कार्यक्रममा श्रमिक अधिकार, सामाजिक सुरक्षा र श्रम ऐनको कार्यान्वयनका विषयमा समेत छलफल गरिएको थियो ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।