लोड हुँदैछ...

मेनु

विराटनगरमा साकेलाको रौनक

विराटनगरमा साकेलाको रौनक

विराटनगर । किरात राई समुदायको महान् सांस्कृतिक पर्व उँभौली (साकेला) आज विराटनगरमा धुमधामका साथ मनाइएको छ।

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने यो पर्वका अवसरमा विराटनगर ११ स्थित साकेला थानमा विशेष पूजाआजा र नाचगानको आयोजना गरियो।

बालीनाली लगाउनुअघि प्रकृति र पितृको पूजा गर्ने परम्पराअनुसार किरात राई समुदायले आजको दिनलाई विशेष महत्त्वका साथ मनाउने गर्दछन्। ‘राम्रोसँग बाली सप्रियोस्, प्राकृतिक विपत्ति नआओस् र सबैमा सुख– शान्ति छाओस्’ भन्ने कामना गर्दै भूमेस्थानमा पूजा गरिएको छ।

विराटनगरमा रहेका किरात समुदायका मानिसहरू आ–आफ्नो जातीय पहिरनमा सजिएर साकेला थान पुगेका थिए। ढोल र झ्याम्टाको तालमा उनीहरूले परम्परागत ‘साकेला सिली’ प्रस्तुत गर्दा कार्यक्रमस्थल निकै आकर्षक देखिएको थियो।

गर्मी बढ्ने भएकाले यस समयमा पशुपन्छी, माछा र मानव जाति बेँसीबाट लेकतिर अर्थात् उँभो लाग्ने विश्वास गरिन्छ। त्यसैले पनि यो पर्वलाई ‘उँभौली’ भनिएको हो। किरात समुदायमा यस दिनलाई चण्डी नाच नाचिने भएकाले ुचण्डी पूर्णिमा समेत भनिन्छ।

विराटनगरसँगै आज देशभरका किरात वस्तीहरू र विशेषगरी काठमाडौँको हात्तीवनस्थित किरात पूजास्थलमा पनि सामूहिक पूजाअर्चना गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।