विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले नेपालको लोकतान्त्रिक गणतन्त्र प्राप्तिको आन्दोलनमा श्रमजीवी वर्गले खेलेको भूमिका ऐतिहासिक र महत्त्वपूर्ण रहेको बताएका छन्। १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १) को अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले श्रमिकहरूको बलिदान र सङ्घर्षकै जगमा वर्तमान व्यवस्था सम्भव भएको उल्लेख गरे।
मुख्यमन्त्री कार्कीले कोशी प्रदेश नेपाली श्रमिक र मजदुरहरूका लागि विशेष महत्त्वको ठाउँ भएको स्मरण गरे। नेपालको पहिलो उद्योग स्थापना भएको र सात दशकअघि विराटनगरबाट सुरु भएको मजदुर आन्दोलनले नै देशमा लोकतन्त्रको जग बसालेको उनले बताए। लोकतन्त्र र जनताको शासन स्थापित गर्न त्याग र सङ्घर्ष गर्ने श्रमिकहरूको हक, हित र अधिकारका साथै उनीहरूको सुखमय जीवनका लागि राज्यले थप काम गर्नुपर्ने जरुरत रहेको उनको भनाइ छ।
कोशी प्रदेश सरकार आफ्ना सीमित स्रोत र साधनका बाबजुद राष्ट्रिय पूँजीको विकास गर्दै रोजगारीका अवसर सिर्जना गर्न क्रियाशील रहेको मुख्यमन्त्रीले उल्लेख गरे। उनले श्रमप्रतिको सम्मान भावलाई स्थापित गर्नुपर्नेमा जोड दिँदै समृद्ध राष्ट्र निर्माणका लागि उद्यमशीलता र लगानीमैत्री वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताए।
यस्तै, सूचना र प्रविधिको युगसँगै मजदुर वर्गलाई पनि प्रविधिमैत्री बनाउनुपर्ने आवश्यकता उनले औँल्याएका छन्। प्रविधिको विकासले विस्थापित हुँदै गएको मजदुर वर्गलाई नयाँ आयाम र अवसरहरूसँग जोडेर अगाडि बढाउन सकिने उनको विश्वास छ। मुख्यमन्त्री कार्कीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण श्रमजीवी मजदुरहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्दै श्रमिकको हक र हित सुनिश्चित गर्न सबैलाई सफलता मिलोस् भनी शुभकामना व्यक्त गरेका छन्।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।