काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका सह–संयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सरकारले जनताको संवैधानिक अधिकार खोस्न लागेको आरोप लगाएका छन्। मजदूर आन्दोलनको इतिहास र वर्तमान राजनीतिक अवस्थाबारे आयोजित एक कार्यक्रममा बोल्दै नेता नेपालले सरकारका पछिल्ला कदमहरू जनविरोधी र मजदुरविरोधी देखिएको टिप्पणी गरे।
कार्ल मार्क्सको ‘विश्वका श्रमजीवीहरू एक होऔँ’ भन्ने उद्घोषलाई आत्मसात गर्दै अघि बढ्नुपर्नेमा जोड दिँदै उनले मजदुर वर्गको हकहित रक्षाका लागि सङ्घर्ष आवश्यक रहेको बताए।
वर्तमान सरकार गठन भएको १०० दिन पनि पूरा नहुँदै गलत लक्षणहरू देखिएको नेता नेपालको भनाइ छ। सरकारले सुकुम्बासी समस्याको उचित विकल्प र व्यवस्थापन नगरी दमनमा उत्रिएको भन्दै उनले आपत्ति जनाए।
‘देश बनाउने चाहना छ भने त्यो सबैको साझा हुनुपर्छ। तथ्याङ्क नलिई र वैकल्पिक व्यवस्था नगरी सुकुम्बासीलाई हटाउने कार्य जायज छैन,’ नेपालले भने, ‘सरकारले ट्रेड युनियन अधिकारमाथि अङ्कुश लगाउन खोजेको छ र अध्यादेशमार्फत शासन गर्न खोज्दैछ। यदि सरकारले आफ्ना कदमहरू नसच्याए मजदूर वर्गले पुनः सङ्घर्षको नेतृत्व गर्नेछ।’
नेपालको भूराजनीतिक अवस्था संवेदनशील रहेको उल्लेख गर्दै नेता नेपालले असंलग्न परराष्ट्र नीतिको महत्त्वमाथि प्रकाश पारे। दुई ठूला छिमेकीको बीचमा रहेको नेपालले सन्तुलित सम्बन्ध राख्नुपर्नेमा उनले जोड दिए। ‘हामी कुनै पनि सैन्य गठबन्धनमा सामेल हुन सक्दैनौँ र कसैको पुच्छर पनि बन्न सक्दैनौँ,’ उनले प्रष्ट पारे।
देशमा बढ्दो बेरोजगारी र युवाको पलायनप्रति चिन्ता व्यक्त गर्दै पूर्वप्रधानमन्त्री नेपालले शिक्षालाई सीप र रोजगारीसँग जोड्नुपर्ने आवश्यकता औँल्याए। प्रतिकूल राजनीतिक अवस्थामा पनि निराश नहुन आग्रह गर्दै उनले भने, ‘हारपछि जित अवश्य हुन्छ। मजदूर वर्गले समाजका सबै तहका समस्या बुझेर परिवर्तनको नेतृत्व गर्नुपर्छ।’
उनले मजदुर र श्रमजीवी वर्गलाई सङ्गठित भएर अधिकार प्राप्तिको लडाइँमा होमिन समेत आह्वान गरे।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।