काठमाडौँ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात राई समुदायले मनाउने उभौली पर्व आज देशभर हर्षोल्लासका साथ मनाइँदैछ। बाली लगाउनुअघि प्रकृति र भूमिको पूजा गरी राम्रो उब्जनीको कामना गर्ने परम्परा अनुसार आज गाउँगाउँमा रहेका भूमेस्थानमा विशेष पूजा आराधना गरिँदैछ।
गर्मी बढ्न थालेपछि मानिसहरू बेँसीबाट लेकतिर अर्थात् ‘उँभो’ लाग्ने भएकाले यस पर्वलाई ‘उभौली’ भनिएको हो। किरात समुदायको विश्वास अनुसार यस समयदेखि चराचुरुङ्गी र जङ्गली जनावरहरू पनि उँभो लाग्छन् भने नदीका माछा पनि गर्मी छल्न लेकतिर लाग्ने गर्दछन्। मार्गशीर्ष शुक्ल पूर्णिमामा जाडो छल्न बेँसी झरेका मानिसहरू आजदेखि खेतीपातीको सिजन सुरु हुने भएकाले पुनः लेकतिर जाने गर्छन्।
उभौलीका अवसरमा किरात समुदायमा विशेष गरी चण्डी नाच र साकेला नाच नाचिन्छ। खेतीपाती राम्रो होस् र उन्नति होस् भन्ने कामनाका साथ नाचिने चण्डी नाचका कारण वैशाख शुक्ल पूर्णिमालाई ुचण्डी पूर्णिमाु पनि भन्ने गरिन्छ।
किरात समुदायभित्रै पनि यो पर्व मनाउने समयमा केही विविधता देखिएको छ। खोटाङको ऐँसेलुखर्क गाउँपालिकाका बासिन्दाले भने यो पर्व परम्पराअनुसार जेठ २२ गतेपछि मात्र मनाउने तयारी गरेका छन्। यस्तै, कतिपय सम्प्रदायले माघ १ गते उभौली र साउन १ गते उधौली मनाउने गरे तापनि धेरैजसोले वैशाख पूर्णिमालाई नै मुख्य उभौली पर्वका रूपमा मान्दै आएका छन्।
यो पर्वले मानव र प्रकृतिबीचको गहिरो सम्बन्धलाई दर्शाउनुका साथै किरात समुदायको मौलिक पहिचान र संस्कृतिलाई उजागर गर्दछ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।