लोड हुँदैछ...

मेनु

श्रमिकको हक र सामाजिक सुरक्षा सुनिश्चित गर्न सरकारसँग प्रचण्डको माग

श्रमिकको हक र सामाजिक सुरक्षा सुनिश्चित गर्न सरकारसँग प्रचण्डको माग

विराटनगर । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले श्रमिकहरूको उचित पारिश्रमिक र सामाजिक सुरक्षा सुनिश्चित गर्न सरकारसँग माग गर्नुभएको छ। १३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले श्रमको सम्मान र श्रमिकमैत्री नीतिहरू कार्यान्वयनमा जोड दिनुभएको हो।

संयोजक प्रचण्डले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण श्रमजीवी नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको कामना गर्दै श्रमिक वर्गप्रति ऐक्यबद्धता प्रकट गर्नुभएको छ। सन् १८८६ मा अमेरिकाको सिकागोमा ८ घण्टा कार्यदिनको मागसहित मजदुरहरूले गरेको ऐतिहासिक संघर्षको स्मरण गर्दै उहाँले यो दिवसले विश्वभरका श्रमिकलाई अधिकारका लागि लड्ने प्रेरणा दिने उल्लेख गर्नुभयो।

जारी सन्देशमा प्रचण्डले भन्नुभएको छ, “नेपाली कम्युनिस्ट पार्टी श्रमिक वर्ग विशेषतः किसान, मजदुर र सुकुम्बासीका हक, हित र अधिकारको संरक्षण र प्रवर्द्धनमा सदैव प्रतिबद्ध रहनेछ।” उहाँले श्रमिकहरूको ट्रेड युनियन अधिकार र अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त श्रम अधिकारहरूको संकुचनप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै यस्ता विषयमा सरकार जिम्मेवार र संवेदनशील बन्नुपर्नेमा जोड दिनुभयो।

प्रचण्डले उचित पारिश्रमिक र श्रमको सम्मान नभएसम्म मुलुकको प्रगति सम्भव नभएको बताउँदै श्रमिक वर्गको निरन्तर प्रगतिको कामना समेत गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।