लोड हुँदैछ...

मेनु

विराटनगरमा वैशाख २१ गते राष्ट्रिय स्तरको महिला नेतृत्व सम्मेलन हुने

विराटनगरमा वैशाख २१ गते राष्ट्रिय स्तरको महिला नेतृत्व सम्मेलन हुने

विराटनगर । नेपाल उद्योग परिसंघ (सीएनआई) कोशी प्रदेशको आयोजनामा विराटनगरमा राष्ट्रिय स्तरको महिला नेतृत्व सम्मेलन आयोजना हुने भएको छ ।
समावेशी आर्थिक वृद्धि र दिगो समृद्धिको लक्ष्यसहित आगामी वैशाख २१ गते विराटनगरस्थित होटल मनास्लु इनमा उक्त सम्मेलन हुन लागेको हो ।

कोशी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, विराटनगर महानगरपालिका र नेपाल उद्योग परिसंघको संयुक्त आयोजनामा हुने सम्मेलनको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गर्ने तय भएको छ । यस कार्यक्रमको संयोजन सीएनआई वुमन लिडरसिप फोरम काठमाडौं र सीएनआई कोशी प्रदेशको महिला उद्यम समितिले गरेका हुन् ।

सम्मेलनको मुख्य विषय दिगो समृद्धितर्फः कृषि, सीप, सिर्जनशीलता र डिजिटल नवप्रवर्तन रहेको छ । सम्मेलनमा महिला नेतृत्व विकास, क्षमता अभिवृद्धि, स्थानीय कृषि, सीप, नवप्रवर्तन तथा उद्यमशीलता प्रवर्द्धनका विषयमा छलफल हुने आयोजकले जनाएको छ ।

सम्मेलनका मुख्य आकर्षणहरूमा महिला उद्यमीहरूका प्रेरणादायी सफलताका कथा प्रस्तुति, फोनपेसहित डिजिटल नवप्रवर्तन सम्बन्धी छलफल र नेटवर्किङ रहेका छन् । त्यस्तै, महिला उद्यमीहरूबाट उत्पादित स्वदेशी वस्तुहरूको विशेष प्रदर्शनी समेत गरिनेछ ।

नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष पवनकुमार सारडा, महिला उद्यम समितिकी संयोजक रचना राठी र डब्लुएलएस कोशीकी संयोजक गिरिजा सारडाद्वारा जारी विज्ञप्तिअनुसार यस कार्यक्रममा आर्थिक, औद्योगिक, बैंकिङ तथा राजनीतिक र सामाजिक क्षेत्रका महत्त्वपूर्ण व्यक्तित्वहरूको सहभागिता रहनेछ ।

सम्मेलनले कोशी प्रदेश तथा देशभरका महिला उद्यमी, नीति निर्माता, विकास साझेदार, वित्तीय संस्था तथा उद्योगी व्यवसायीलाई एकै ठाउँमा ल्याई दिगो आर्थिक विकासको मार्ग तय गर्ने विश्वास लिइएको छ । कार्यक्रम वैशाख २१ गते बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुने नेपाल उद्योग परिसंघ कोशी प्रदेशले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।