विर्तामोड । कचनकवल गाउँपालिका–३ दलकीस्थित अभिमुक्तरेश्वर सामुदायिक वन अगाडि विद्यालय बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन्।
भद्रपुर–दलकी भित्री सडक खण्डमा बिहान भएको दुर्घटनामा विद्यापानी सेकेन्डरी स्कुलको बसले बाटोमा निस्किएको मोटरसाइकललाई ठक्कर दिएपछि बस अनियन्त्रित भई सडकमै पल्टिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
दुर्गाभिट्टाबाट आमबारीतर्फ जाँदै गरेको प्र १–०१–००१ ख ४४८२ नम्बरको बसले प्र १–०१–०१३ प ३४०३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। त्यसपछि बसमा सवार करिब २० जना विद्यार्थीमध्ये १२ जना घाइते भएका हुन्।
घाइतेहरूलाई उपचारका लागि बिर्तामोडस्थित मनमोहन अस्पताल लगिएको छ। घाइतेमध्ये कचनकवल–३ का ५२ वर्षीय मोटरसाइकल चालक ओम प्रसाद तिमल्सिनाको मुख, टाउको र बायाँ खुट्टामा चोट लागेको छ।
विद्यार्थी घाइतेहरूमा १२ वर्षीय अभिषेक राजवंशी, ९ वर्षीय अर्जुन राजवंशी, ११ वर्षीय धर्मेन्द्र राजवंशी, ७ वर्षीय खुसीबु श्रेष्ठ, ९ वर्षीय करण राजवंशी, १० वर्षीय प्रतीक्षा राजवंशी, ५ वर्षीय बरटिका राजवंशी, ४ वर्षीय सुमन राजवंशी, ८ वर्षीय सृजना राजवंशी र ४ वर्षीय दिपेन राजवंशी रहेका छन्।
अधिकांश विद्यार्थीको अवस्था सामान्य रहेको र केहीलाई टाउको, पेट र ढाड दुख्ने समस्या देखिएको अस्पताल स्रोतले जनाएको छ।
दुर्घटनापछि बस चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। हाल दुवै सवारी साधन प्रहरी नियन्त्रणमा छन् भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।