काठमाडौं । भारतीय विदेशमन्त्री एस. जयशंकर र इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीबीच बुधबार साँझ टेलिफोन वार्ता भएको छ ।
भारतीय सञ्चार माध्यमहरूका अनुसार, दुई देशका विदेशमन्त्रीहरूबीच भएको उक्त कुराकानीमा मुख्यतया क्षेत्रीय परिस्थिति, द्विपक्षीय सम्बन्ध र पछिल्लो समय बढ्दै गएको युद्धको अवस्थाका बारेमा छलफल भएको थियो । विशेष गरी पश्चिम एसियामा जारी तनाव र युद्धविरामका प्रयासहरूबारे उनीहरूले विचार आदानप्रदान गरेका थिए ।
वार्तापछि सामाजिक सञ्जालमार्फत जानकारी दिँदै विदेशमन्त्री जयशंकरले इरानी समकक्षीसँगको कुराकानी फलदायी रहेको र विभिन्न क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दाहरूमा छलफल भएको बताएका छन् । उनले आगामी दिनमा पनि दुवै पक्ष नजिकको सम्पर्कमा रहन सहमत भएको जानकारी दिए ।
पछिल्लो समय इरान र इजरायलबीच बढ्दो तनावका बीच भारतले सन्तुलित भूमिका निर्वाह गर्दै आएको छ । यसै सन्दर्भमा दुई मन्त्रीहरूबीच भएको यो संवादलाई अर्थपूर्ण रूपमा हेरिएको छ । दुवै नेताहरूले भारत र इरानबीचको परम्परागत सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।