लोड हुँदैछ...

मेनु

देशभर बदली र वर्षाको सम्भावना, सतर्क रहन आग्रह

देशभर बदली र वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौँ । देशमा हाल पश्चिमी वायु, स्थानीय वायुका साथै पूर्वी भाग नजिक रहेको न्यून चापीय क्षेत्रको मिश्रित प्रभाव देखिएको छ । जसका कारण अहिले देशभरको मौसममा फेरबदल आएको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका अधिकांश स्थानमा बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका धेरै ठाउँमा तथा कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हुरीबताससहित मध्यम वर्षा भइरहेको छ । मधेश र सुदूरपश्चिम प्रदेशका पनि एक–दुई स्थानमा पानी परिरहेको छ ।

आज दिउँसो देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहनेछ । कोशी र मधेश प्रदेशका साथै देशका पहाडी र हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ । साथै, उच्च हिमाली क्षेत्रमा हिमपातको पनि सम्भावना रहेको छ ।

आज राति पहाडी र तराई क्षेत्रमा आंशिक बदली रहनेछ भने हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ । महाशाखाका अनुसार राति कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मध्यम वर्षा र हिमपात हुन सक्ने देखिन्छ ।

हुरीबतास, चट्याङ र वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।