विराटनगर । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले कोशी प्रदेशका भौतिक पूर्वाधार मन्त्री प्रदीप कुमार सुनुवारसहितलाई स्पष्टीकरण सोधेको छ।
कांग्रेस अनुशासन समितिले गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पार्टीका उम्मेदवारलाई असहयोग गरेको भन्दै सुनुवारलाई स्पष्टीकरण सोधेको हो।
सुनुवार ओखलढुङ्गाबाट निर्वाचित प्रदेश सभा सदस्य हुन्। ओखलढुङ्गाबाट प्रतिनिधिसभामा कांग्रेसले कुमार लुइटेललाई उम्मेदवार बनाएको थियो। उनी राष्ट्रिय स्वतन्त्र पार्टीका विश्वराज पोखरेलसँग पाँच मतले पराजित भएका थिए।
पार्टीका उम्मेदवार लुइटेललाई असहयोग गरेको भन्दै सुनुवारलाई स्पष्टीकरण माग गरिएको कांग्रेसको अनुशासन समितिले जनाएको छ। सुनुहार पार्टीका पूर्व केन्द्रीय सदस्य हुन्। उनी पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा निकट मानिन्छन्।
अनुशासन समितिको बुधबार बसेको बैठकले प्रदेश सरकारका तीन मन्त्रीसहित सात प्रदेश सांसदसँग स्पष्टीकरण मागेको छ । स्पष्टीकरणमा परेका मन्त्रीहरूमा लुम्बिनी प्रदेशका वनमन्त्री देवकरणप्रसाद कलवार (महासमिति सदस्य) र लुम्बिनी प्रदेशका यातायात तथा पर्यटन मन्त्री प्रचण्डविक्रम न्यौपाने पनि छन् ।
यस्तै, लुम्बिनी प्रदेश सभाका सांसद(प्रदेश उपसभापति) राजु खनाल, मधेश प्रदेशका सांसदहरू जंगीलाल राय, सकुन्तीदेवी महरा र कौशलकिशोर रायसँग पनि स्पष्टीकरण सोधिएको कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए । उनीहरूलाई पाँच दिनभित्र स्पष्टीकरण बुझाउन भनिएको छ ।





प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।