लोड हुँदैछ...

मेनु

झापामा जङ्गली हात्तीको आतंक, स्थानीय त्रसित

झापामा जङ्गली हात्तीको आतंक, स्थानीय त्रसित

विर्तामोड । झापाको बुद्धशान्ति गाउँपालिका क्षेत्रमा दुई वटा जङ्गली हात्ती बस्ती नजिक देखिएपछि स्थानीयवासीमा त्रास फैलिएको छ।

बुधबार बिहान करिब ६ बजे बुद्धशान्ति–२ जयपुरको मकैबारीमा देखिएका हात्तीहरू अहिले बुद्धशान्ति–४ जुनेली बस्ती नजिकको चिया बगान क्षेत्रमा भौँतारिरहेका छन्।

इलाका प्रहरी कार्यालय बुधबारेका प्रहरी नायब निरीक्षक चन्द्र राउतको कमाण्डमा खटिएको टोलीले हात्तीलाई सुरक्षित रूपमा जंगलतर्फ फर्काउने प्रयास गरिरहेको जनाएको छ। तर, स्थानीयवासी चारैतिरबाट जम्मा भई हात्तीलाई घेरेपछि उनीहरूले प्राकृतिक बाटो समात्न नसकेको बुझिएको छ । हात्तीहरू आत्तिने र आक्रामक बन्ने जोखिम बढेको सुरक्षाकर्मीको भनाइ छ।

केही दिनअघि पनि यही जयपुर क्षेत्रमै अलपत्र परेको अर्को हात्तीलाई प्रहरीले सफलतापूर्वक उद्धार गरी जंगलतर्फ पठाएको थियो। तर, यसपटकको घटनाले पुनः मानव–वन्यजन्तु द्वन्द्वको खतरा बढाएको छ।

हात्ती बस्ती नजिकै घुमिरहेकाले स्थानीय सर्वसाधारण घरबाहिर निस्कन डराइरहेका छन्। विद्यालय जाने बालबालिका प्रभावित भएका छन् भने खेतबारी र चिया बगानमा क्षति पुग्ने सम्भावना पनि उच्च देखिएको छ।

सुरक्षाकर्मीले भीड नगर्न, हात्ती नजिक नजान र सुरक्षित दूरी कायम गर्न आग्रह गरेका छन्। भीड नियन्त्रण नभएमा मानवीय क्षति हुन सक्ने जोखिम औंल्याउँदै सम्बन्धित निकायले सतर्कता अपनाउन अनुरोध गरेको छ।

प्रहरी र स्थानीय निकायको समन्वयमा हात्तीलाई सुरक्षित रूपमा जंगल फर्काउने प्रयास जारी रहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।