विराटनगर । मोरङको ग्रामथान गाउँपालिका क्षेत्रमा पर्ने खोलाहरूबाट नदीजन्य पदार्थको अवैध उत्खनन भइरहेको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय मोरङले पालिकाको जवाफ मागेको छ ।
प्रशासनले एक पत्र पठाउँदै नदीजन्य पदार्थ उत्खनन सम्बन्धी सम्पूर्ण यथार्थ विवरण उपलब्ध गराउन गाउँपालिकालाई निर्देशन दिएको हो ।
ग्रामथानस्थित श्री महालक्ष्मी समाज सेवा संस्थाले सिंघिया र लोहन्द्रा खोलामा मापदण्डविपरीत अत्यधिक उत्खनन भइरहेको भन्दै प्रशासनमा उजुरी दर्ता गराएको थियो । सोही उजुरीका आधारमा मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले सोमबार गाउँपालिकालाई पत्र पठाउँदै तीन दिनभित्र प्रमाणित प्राविधिक प्रतिवेदन बुझाउन निर्देशन दिएका हुन् ।
प्रशासनले सोधेको पत्रमा ‘कुन कानुनी आधारमा उत्खनन गर्न दिइएको हो ? भन्दै प्रश्न गरिएको छ । साथै, सिंघिया र लोहन्द्रा खोलाको कुन–कुन स्थानमा ठेक्का बन्दोबस्त भएको छ र उक्त स्थानहरूमा स्वीकृत वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनको पालना भए नभएको विषयमा स्पष्ट पार्न भनिएको छ ।
प्रशासनले दुवै खोला आसपासमा भइरहेको (घाटगद्दी) भण्डारण बारे पनि चासो देखाएको छ । स्थानीयबासीले निजी जग्गाको आडमा खोलाको धार नै परिवर्तन हुने गरी ठूला मेसिन प्रयोग गरेर गहिरो खाडल खनिएको गुनासो गरेका छन् । यसरी निजी जग्गाबाट नदीजन्य सामग्री उत्खनन गर्न पालिकाले अनुमति दिएको छ वा छैन भन्ने विषयमा पनि प्रशासनले स्पष्टीकरण मागेको छ ।
मापदण्डविपरीत उत्खनन हुँदा बस्ती नै जोखिममा पर्न सक्ने भन्दै स्थानीयले विरोध जनाउँदै आएका छन् । तोकिएको क्षेत्रफलभन्दा बढी खन्ने र वातावरणीय प्रभाव मूल्याङ्कनको चरम दुरुपयोग गरिएको उजुरीमा उल्लेख छ । प्रशासनले प्राप्त विवरण र प्राविधिक प्रतिवेदनको अध्ययनपछि थप कदम चालिने जनाएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।