बिर्तामोड । झापाको सीमावर्ती क्षेत्रमा भारततर्फ अवैध रूपमा लैजान तयारी अवस्थामा लुकाएर राखिएको ठूलो परिमाणको स्याउ सुरक्षाकर्मीले बरामद गरेका छन्।
विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्त रूपमा छापा मार्दा १०४ कार्टुन स्याउ फेला परेको हो।
झापा गाउँपालिका–१ सालमारास्थित जालिम मियाको घरमा स्याउ भण्डारण गरिएको सूचनापछि सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट टाघनडुब्बा र इलाका प्रहरी कार्यालय कुमारखोदबाट खटिएको टोलीले संयुक्त कारबाही गरेको थियो।
छापामारीका क्रममा बिलबिजकविहीन २ हजार ८० किलोग्राम स्याउ बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद स्याउको अनुमानित मूल्य करिब ८ लाख ४० हजार रुपैयाँ रहेको छ।
बरामद गरिएको स्याउ आवश्यक कारबाहीका लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अघि बढाइएको सुरक्षा स्रोतले जनाएको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।