लोड हुँदैछ...

मेनु

जिउँदो व्यक्तिलाई मृत देखाएर मृत्यु दर्ता गर्ने वडाध्यक्षसहित चार पक्राउ

जिउँदो व्यक्तिलाई मृत देखाएर मृत्यु दर्ता गर्ने वडाध्यक्षसहित चार पक्राउ

विराटनगर । जिउँदो व्यक्तिलाई मृत देखाएर मृत्यु दर्ताको प्रमाणपत्र जारी गरेको आरोपमा पश्चिम नवलपरासीमा एक वडाध्यक्षसहित चारजना पक्राउ परेका छन् ।

सुस्ता गाउँपालिका–५ का वडाध्यक्ष प्रभुनाथ अहिर र वडा सचिव सञ्जयकुमार चौधरीसहित चार जनालाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।

जिल्ला अदालत नवलपरासीबाट पक्राउ पुर्जी जारी भएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं डीएसपी वीरदत्त पन्तले जानकारी दिए ।
प्रहरीका अनुसार यसअघि नै झुटा विवरण पेस गरी मृत्यु दर्ता गराउने मुख्य आरोपित सुस्ता गाउँका ३१ वर्षीय तारिख मियाँ अन्सारी पक्राउ परिसकेका छन् ।
अनुसन्धानका क्रममा अन्सारीले आफ्नै पिताको मृत्यु भएको भन्दै अर्कै ६६ वर्षीय जीवित आफन्तको विवरण राखेर गत वर्ष मृत्यु दर्ता गराएको खुलेको छ । अन्सारीका पिताको वास्तविक मृत्यु भने २०६० सालमै भइसकेको तथ्य फेला परेको डीएसपी पन्तले बताए ।

आफू जीवितै हुँदाहुँदै आफ्नो नाममा मृत्यु दर्ता निकालिएको थाहा पाएपछि पीडित वृद्धका छोराले गत चैत महिनामा प्रहरीमा जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा मुद्दा दर्ता भई अनुसन्धान अघि बढाइएको थियो ।

घटनाको मुचुल्कामा साक्षी बस्ने ५५ वर्षीय छोटे खाँ पनि पक्राउ परेका छन् भने साक्षीमा हस्ताक्षर गर्ने अन्य ७ जना अझै फरार रहेको इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ । उनीहरूको खोजी कार्य तीव्र पारिएको प्रहरीको भनाइ छ ।
पक्राउ परेकाहरूलाई राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ अन्तर्गत झुट्टा विवरण पेश गरी मृत्यु दर्ता प्रमाणपत्र बनाएको कसुरमा मुद्दा चलाइनेछ । उनीहरूलाई अदालतबाट म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।