लोड हुँदैछ...

मेनु

मर्मत कार्यका लागि मेची राजमार्ग दैनिक साढे सात घण्टा बन्द हुने

मर्मत कार्यका लागि मेची राजमार्ग दैनिक साढे सात घण्टा बन्द हुने

इलाम । मेची राजमार्गको विभिन्न खण्डमा मर्मत तथा पहिरो नियन्त्रण कार्यका लागि आगामी वैशाख १८ गतेदेखि २५ गतेसम्म दैनिक रूपमा सवारी आवागमन बन्द गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय इलामले एक सूचना जारी गर्दै राजमार्ग आंशिक रूपमा बन्द रहने जानकारी दिएको हो।

प्रशासनका अनुसार मेची राजमार्गको राजदुवालीस्थित पुरानो स्टिल ट्रस पुलको मर्मत, राजदुवाली खण्डकै पहिरो नियन्त्रण र रोङ गाउँपालिकास्थित वाघखोर सडक खण्डमा भित्ताको कडा चट्टान काट्ने कार्यका लागि सडक बन्द गर्न लागिएको हो।

सूचनामा उल्लेख भए अनुसार आगामी २०८३ वैशाख १८ गतेदेखि वैशाख २५ गतेसम्म प्रत्येक दिन बिहान साढे ९ बजेदेखि बेलुका ५ बजेसम्म उक्त सडक खण्डहरूमा सवारी साधन सञ्चालनमा रोक लगाइनेछ।

सडक बन्द रहने समयमा यात्री र सवारी चालकहरूको सहजताका लागि प्रशासनले वैकल्पिक मार्गहरू प्रयोग गर्न आग्रह गरेको छ । जसमा राजदुवाली सडक खण्डका लागि मेची कोरिडोर (गोलाखर्क–वेलासे) वा सिमलगोलाईûतिल्केनी सडक प्रयोग गर्न सकिनेछ। यस्तै वाघखोर सडक खण्डका लागि साना सवारी साधनहरूले हाँसपोखरी–हापेन चोक सडक प्रयोग गर्न सक्नेछन्।

सडक डिभिजन कार्यालय इलामको अनुरोधमा जिल्ला सुरक्षा समितिको निर्णय अनुसार काम गर्ने वातावरण सहज बनाउन र सम्भावित दुर्घटना न्यूनीकरण गर्न यो कदम चालिएको सहायक प्रमुख जिल्ला अधिकारी सरुज प्रसाद पौडेलद्वारा जारी सूचनामा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।