लोड हुँदैछ...

मेनु

सत्तामा झापा, प्रतिपक्षमा पाँचथर : राजनीतिमा एक संयोग !

सत्तामा झापा, प्रतिपक्षमा पाँचथर : राजनीतिमा एक संयोग !

विराटनगर । नेपालको वर्तमान राजनीतिमा एउटा रोचक दृश्य देखिएको छ । एकातिर छिमेकी जिल्ला झापाले केन्द्रदेखि प्रदेशसम्म सत्ताको ‘स्टेरिङ’ सम्हालिरहेको छ भने अर्कोतिर पहाडी जिल्ला पाँचथरले संघ र प्रदेश दुवैतिर ‘प्रमुख प्रतिपक्षी’ को भूमिका पाएको छ ।

संघीय संसद्मा मात्र एक निर्वाचन क्षेत्र रहेको पाँचथरले अहिले देशकै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको नेताका रूपमा भीष्मराज आङदेम्बेलाई पाएको छ । समानुपातिकबाट सांसद बनेका आङदेम्बेले अब सदनमा सरकारलाई खबरदारी गर्ने मुख्य जिम्मेवारी सम्हाल्नेछन् । पाँचथरबाटै प्रत्यक्षतर्फ कांग्रेसका नरेन्द्र केरुङ र नेकपा एमालेकी भूमिका सुब्बा पनि संघीय सांसदका रूपमा केन्द्रमा प्रतिनिधित्व गरिरहेका छन्।

रोचक कुरा त के छ भने, कोशी प्रदेशमा पनि प्रमुख प्रतिपक्षी दलको नेता पाँचथरकै इन्द्रबहादुर आङबो छन् । पुर्ब माओवादीका नेता रहेका उनी अहिलेको नेकपाको संसदीय दलको नेता समेत उनै छन् । जम्मा ७ जना सांसद (संघमा ३ र प्रदेशमा ४) रहेको पाँचथरले प्रदेश सभामा पनि बलियो उपस्थिति देखाएको छ । प्रदेशमा आङबोका साथै नेकपाकै कमल जबेगु प्रत्यक्ष निर्वाचित छन् भने कांग्रेसकी सचेतक मैया श्रेष्ठ र राप्रपाका संसदीय दलका नेता प्रेमराज थाम्सुहाङले समानुपातिकबाट प्रतिनिधित्व गरिरहेका छन् ।

पाँचथरले प्रतिपक्षको मोर्चा सम्हाल्दा छिमेकी जिल्ला झापा भने ‘सत्ताको केन्द्र’ बनेको छ । झापा क्षेत्र नम्बर ५ बाट निर्वाचित बालेन्द्र (बालेन) शाह देशको प्रधानमन्त्रीका रूपमा सिंहदरबार हाँक्दैछन् भने झापा ५ (१) बाटै निर्वाचित सांसद हिक्मत कुमार कार्की कोशी प्रदेशको मुख्यमन्त्रीका रूपमा सत्ताको बागडोर सम्हालिरहेका छन् ।

एउटै भूगोल, तर भूमिका भने आकाश–पातालको फरक ! सत्ताको नेतृत्व झापाले गर्दा त्यसलाई अंकुश लगाउने र खबरदारी गर्ने प्रमुख जिम्मेवारी भने पाँचथरको काँधमा आइपुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।