काठमाडौं । लामो समयदेखि मुआब्जा र जग्गा प्राप्तिको विवादले रोकिएका दुई महत्त्वपूर्ण विद्युत् परियोजनाहरू ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको सक्रिय पहलमा अगाडि बढेका छन् । मन्त्री श्रेष्ठको अग्रसरतासँगै ललितपुरको बालकुमारीमा निर्माणाधीन जीआईएस सबस्टेशन र हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको अवरोध हटेको हो ।
चार वर्षभन्दा बढी समयदेखि जग्गा प्राप्तिको समस्याले रोकिएको ललितपुरको बालकुमारीस्थित जीआईएस सबस्टेशन निर्माणको बाटो खुलेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले केयुकेएलको स्वामित्वमा रहेको करिब ४ रोपनी जग्गा नेपाल विद्युत प्राधिकरणलाई उपयोग गर्न स्वीकृति दिएसँगै यो प्रक्रिया पूरा भएको हो ।
एसियाली विकास बैंक (एडीबी)को करिब २ अर्ब रुपैयाँ ऋण लगानीमा निर्माण हुने यस सबस्टेशनले काठमाडौं र ललितपुरको विद्युत् वितरण प्रणालीलाई सुदृढ र भरपर्दो बनाउनेछ । सहमति अनुसार प्राधिकरणले केयुकेएलको ढल प्रशोधन केन्द्रलाई आवश्यक पर्ने विद्युत् निःशुल्क उपलब्ध गराउनेछ भने त्यसवापत प्राधिकरणले २५ वर्षसम्मका लागि ३ रोपनी १३ आना २ पैसा जग्गा उपभोग गर्न पाउनेछ । भक्तपुरको ठिमीबाट आउने भूमिगत प्रसारण लाइनलाई यो सबस्टेशनमार्फत टेकुमा जोडिनेछ, जसले आगामी ५ वर्षको विद्युत् मागलाई सहजै धान्ने अपेक्षा गरिएको छ । जग्गा प्राप्तिसँगै अब छिट्टै बोलपत्र आह्वान गरिने प्राधिकरणले जनाएको छ ।
सन् २०१२ देखि मुआब्जा विवादका कारण हेटौंडाको हटिया क्षेत्रमा रोकिएको हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको निर्माण कार्यले पनि गति लिएको छ । मन्त्री श्रेष्ठले जग्गाधनी र स्थानीय जनप्रतिनिधिहरूसँग यसै साता गरेको सघन छलफलपछि मुआब्जा विवाद टुङ्गिएको हो ।
जग्गाधनीहरू मुआब्जा लिन सहमत भएपछि हटिया क्षेत्रमा रोकिइरहेका १४ वटा टावरमध्ये ७ वटा टावरको जग खन्ने र कङ्क्रिटिङ गर्ने कार्य तीव्र गतिमा सुरु भएको छ । नेपालको विद्युत् प्रणालीको ुमेरुदण्डु मानिएको यस आयोजनाको पूर्वी खण्ड (ढल्केबर–इनरुवा) तीन वर्षअघि नै सम्पन्न भइसकेको थियो । पश्चिम खण्डको यो अवरोध हटेसँगै अब राष्ट्रिय प्रसारण लाइन थप विश्वसनीय हुने र निजी क्षेत्रका विद्युत उत्पादकहरूलाई समेत ठूलो राहत पुग्नेछ ।
यी दुवै आयोजनाको प्रगतिले नेपालको आन्तरिक विद्युत् आपूर्तिलाई बलियो बनाउनुका साथै भविष्यमा विद्युत् निर्यातका लागि आवश्यक पूर्वाधार तयार गर्न महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।