विराटनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको दमक–२ स्थित हिमालय माध्यमिक विद्यालयका प्रधानाध्यापक र लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले उनीहरूविरुद्ध ९३ लाख ८३ हजार ३०९ रुपैयाँ बिगो दाबीसहित विशेष अदालत मा आरोपपत्र पेश गरेको हो।
आयोगका अनुसार आर्थिक वर्ष २०७७–७८ देखि विद्यालयको भवन निर्माण तथा अन्य शीर्षकमा रकम हिनामिना भएको उजुरीका आधारमा अनुसन्धान सुरु गरिएको थियो। अनुसन्धानका क्रममा भवन निर्माणमा गम्भीर अनियमितता भएको भेटिएको आयोगले जनाएको छ।
विशेषगरी नमुना विद्यालय भवन निर्माण अन्तर्गत पहिलो तलाको निर्माण कार्यमा वास्तविक मूल्याङ्कन करिब १ करोड ४८ लाख ५३ हजार २३५ रुपैयाँ मात्र रहेको देखिएको छ। तर, सोही कामका लागि नक्कली बिल, बिजक तथा भरपाई तयार गरी करिब २ करोड ७ लाख ७९ हजार ९२२ रुपैयाँसम्म भुक्तानी गरिएको पाइएको छ।
यसरी वास्तविक लागतभन्दा करिब ५९ लाख २६ हजार ६८६ रुपैयाँ बढी भुक्तानी गरिएको आयोगको दाबी छ। अनियमितता ढाकछोप गर्न झुठा कागजात तयार पारिएको र मूल्याङ्कनभन्दा बढी रकम खर्च देखाइएको निष्कर्ष आयोगले निकालेको छ।
भवन निर्माणमा मात्रै सीमित नरही विद्यालयको अन्य आर्थिक कारोबारमा पनि हिनामिना भएको पाइएको छ। आयोगका अनुसार दुवै जनाको मिलेमतोमा २०७७–७८ यता बेरुजु देखिएको करिब १६ लाख ६० हजार १०१ रुपैयाँ तथा थप १७ लाख ९६ हजार ५२१ रुपैयाँ नगद रकम व्यक्तिगत प्रयोजनमा प्रयोग गरिएको छ । यसले विद्यालयको समग्र आर्थिक अनुशासनमा गम्भीर असर पारेको आयोगको भनाइ छ।
आयोगले प्रस्तुत गरेको आरोपपत्रअनुसार उनीहरूले सार्वजनिक संस्थाको रकम हिनामिना, दुरुपयोग तथा निजी लाभमा प्रयोग गरेको ठहर गर्दै भ्रष्टाचार निवारण ऐन २०५९ अन्तर्गत कसूर गरेको उल्लेख गरिएको छ। सोही ऐनअनुसार बिगो असुल, जरिवाना तथा कैद सजायको माग गर्दै मुद्दा दायर गरिएको हो ।
आयोगले विद्यालय व्यवस्थापनमा पारदर्शिता र जवाफदेहिता कायम गर्न यस्ता अनियमिततामा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउने क्रम जारी रहने जनाएको छ । यस घटनाले सार्वजनिक शिक्षण संस्थामा हुने आर्थिक अनुशासन र निगरानीको आवश्यकता पुनः उजागर गरेको सरोकारवालाहरूको भनाइ छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।