लोड हुँदैछ...

मेनु

विराटनगरमा जेनजी आन्दोलनमा फोडिएको ट्राफिक लाइट पुनः सञ्चालन

विराटनगरमा जेनजी आन्दोलनमा फोडिएको ट्राफिक लाइट पुनः सञ्चालन

विराटनगर । विराटनगरमा गत भदौ २४ काके ‘जेनजी’ आन्दोलनको आवरणमा भएको आगजनी र तोडफोडबाट ध्वस्त पारिएका ट्राफिक लाइट मर्मतपछि पुनः सञ्चालनमा आएका छन्।

अराजक समूहको निशानामा परेका लाइटहरू लामो समयपछि सुचारु हुँदा सहरको ट्राफिक व्यवस्थापन क्रमशः सुधारतर्फ उन्मुख भएको विराटनगर महानगरपालिकाले जनाएको छ।

महानगर क्षेत्रका अधिकांश स्थानमा ट्राफिक बत्ती पुनः सञ्चालनमा ल्याइसकिएको मेयर नागेश कोइरालाले जानकारी दिएका छन् । हाल एउटाबाहेक अन्य सबै स्थानका लाइटहरू सञ्चालनमा आइसकेको उनको भनाइ छ । आन्दोलनका क्रममा क्षतिग्रस्त बनेका संरचनाको मुचुल्का तयार पार्ने, प्राविधिक अनुगमन गर्ने र मर्मतका लागि बजेट छुट्याएर महानगरले काम अघि बढाएको थियो।

कोशी प्रदेश सरकारमार्फत निर्माण गरिएको बरगाछी चौकको ट्राफिक लाइट भने अझै महानगरको व्यवस्थापनमा छैन । ट्राफिक संकेत प्रणाली पुनः सञ्चालन भएसँगै सवारी दुर्घटना न्यूनीकरण हुने र सवारी चाप व्यवस्थापनमा सहजता आउने विश्वास गरिएको छ।

आन्दोलनका क्रममा सहरका ६ स्थानमा रहेका ट्राफिक लाइटमा आगजनी र तोडफोड हुँदा इन्भर्टर, ब्याट्री, क्यामेरा, तार लगायतका उपकरणमा ठूलो क्षति पुगेको थियो। केही सामग्री लुटपाटसमेत गरिएको थियो, जसका कारण विराटनगर लामो समय ट्राफिक लाइटविहीन बनेको थियो।

मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेका अनुसार ५ स्थानका ट्राफिक लाइट सञ्चालनमा आइसकेका छन् भने कञ्चनबारीको लाइट छिट्टै सञ्चालनमा ल्याउने तयारी भएको छ । त्यहाँ पोल नै भाँचिएकाले नयाँ सामग्री आवश्यक परेकोले काठमाडौंबाट मगाइएको उनले जानकारी दिए ।

ट्राफिक संकेत प्रणाली सक्रिय भएपछि चालक अनुशासन बढ्ने, भीड नियन्त्रण सहज हुने र दुर्घटनाको जोखिम कम हुने अपेक्षा गरिएको छ। महानगरपालिकाले प्रारम्भिक रूपमा १० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ भने आवश्यकता अनुसार आगामी आर्थिक वर्षमा थप बजेट छुट्याउने योजना रहेको जनाएको छ।

लामो समयपछि ट्राफिक लाइट पुनः सञ्चालनमा आएपछि स्थानीयवासीले राहत महसुस गर्न थालेका छन्। महानगर, ट्राफिक प्रहरी र सम्बन्धित निकायबीचको समन्वयले आगामी दिनमा सहरको ट्राफिक व्यवस्थापन अझ प्रभावकारी बन्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।