काठमाडौं । विभिन्न राजनीतिक दलसँग सम्बद्ध विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने सरकारको तयारीविरुद्ध संयुक्त विद्यार्थी आन्दोलनले त्रिभुवन विश्वविद्यालय परिसरमा मार्चपास गरेको छ।
मंगलबार घण्टाघरदेखि टीयू गेटसम्म गरिएको प्रदर्शनपछि कार्यक्रम विरोध सभामा परिणत भएको थियो।
आन्दोलनरत विद्यार्थीहरूले प्रस्तावित प्रतिबन्ध संविधान र लोकतान्त्रिक मूल्य–मान्यताविपरीत रहेको बताउँदै यसलाई नागरिक अधिकारमाथिको प्रत्यक्ष हस्तक्षेपका रूपमा व्याख्या गरेका छन्। उनीहरूको भनाइमा विद्यार्थी संगठनहरू लोकतान्त्रिक अभ्यासका महत्वपूर्ण अंग भएकाले यस्ता निर्णयले स्वतन्त्र अभिव्यक्ति र संगठनको अधिकार कमजोर पार्छ।
प्रदर्शनका क्रममा विद्यार्थीहरूले अन्य विभिन्न मागहरू पनि अघि सारेका छन्। बढ्दो महँगी नियन्त्रण गर्न, शैक्षिक संस्थामा ‘ब्यारेकीकरण’ जस्तो अभ्यास अन्त्य गर्न तथा योग्यता प्रणाली (मेरिटोक्रेसी) लागू गर्न उनीहरूले सरकारसँग आग्रह गरेका छन्।
विद्यार्थीलाई सार्वजनिक यातायातमा दिइँदै आएको ४५ प्रतिशत भाडा छुट कायम राख्न, विद्यार्थी संगठनमाथि लगाउन खोजिएको प्रतिबन्ध फिर्ता लिन र स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) खारेज गर्ने निर्णय पुनर्विचार गर्न पनि उनीहरूले माग गरेका छन्।
मार्चपासपछि आयोजित सभामा वक्ताहरूले विद्यार्थी अधिकार संरक्षणका लागि आन्दोलनलाई अझ सशक्त बनाउने चेतावनी दिएका छन्।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।