धनकुटा । कोशी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य तीनजुरे–मिल्के–जलजले क्षेत्र (टीएमजे) अहिले पर्यटकले भरिभराउ छ ।
वसन्त ऋतु सुरु भएसँगै रंगीचंगी गुराँसले ढकमक्क फुलेर दुलहीझैं सिंगारिएको टिएमजे क्षेत्रमा पर्यटकको उल्लेख्य भीड देखिएको छ।
तेह्रथुम, संखुवासभा र ताप्लेजुङ जिल्लाको संगमस्थलका रूपमा रहेको टीएमजेमा चैतदेखि वैशाखसम्मको समय भ्रमणका लागि सबैभन्दा उपयुक्त मानिन्छ। यही समयमा जंगलभरि रातो, गुलाबी, पहेँलो र सेतो रङका गुराँस फुल्दा पहाडै रंगिएको देखिन्छ। वसन्तपुर बाट सुरु हुने यो क्षेत्र घुर्बिसे, पाँचपोखरी, मंगलबारे, गुफा, सुके र गुफापोखरी हुँदै ताप्लेजुङसम्म फैलिएको छ।
गुराँस फुलेसँगै चोत्लुङ पार्क, टुटे देउराली, आरआर गार्डेन, डुँडपानी, घुर्बिसे, पाँचपोखरी र गुफा क्षेत्रसम्म पर्यटकको बाक्लो उपस्थिति देखिएको छ। यस वर्ष अनुकूल मौसम र पर्याप्त वर्षाका कारण अघिल्लो वर्षभन्दा बढी गुराँस फुलेको स्थानीयको भनाइ छ।
पर्यटकको चाप यति बढेको छ कि होटलहरू पूर्ण रूपमा भरिएका छन्। वसन्तपुरस्थित होटल हिमालयनकी सञ्चालिका सुशीला पौडेलका अनुसार दैनिक सयौँ पर्यटक कोठा अभावका कारण फर्किन बाध्य छन्। होटल एसोसिएसनका अनुसार तेह्रथुम, धनकुटा र आसपासका क्षेत्रका होटलहरू भरिएपछि पर्यटकलाई अन्य सहरतर्फ पठाउनुपर्ने अवस्था आएको छ।
पछिल्लो समय आन्तरिक पर्यटन बढ्दै जाँदा यसको प्रभाव टीएमजेमा देखिएको छ। विशेषगरी तराई क्षेत्रबाट ठूलो संख्यामा पर्यटक आउने गरेका छन् भने सीमित मात्रामा भारतीय पर्यटक पनि पुगेका छन्। हप्तामा दुई दिन सार्वजनिक बिदा दिने सरकारी निर्णयले पनि पर्यटक आगमनमा थप वृद्धि भएको व्यवसायीहरू बताउँछन्।
टीएमजे क्षेत्र प्राकृतिक सौन्दर्यसँगै जैविक विविधताका लागि पनि परिचित छ। विश्वमा पाइने ३२ प्रजातिका गुराँसमध्ये २८ प्रजाति यही क्षेत्रमा पाइन्छन्। साथै, यहाँबाट कञ्चनजंघा हिमाल, मकालु हिमाल र चाम्लाङ हिमाल लगायतका हिमालको दृश्यावलोकन गर्न सकिन्छ।
गुराँस टिप्ने र हाँगा भाँच्ने गतिविधि बढ्न थालेपछि स्थानीयले चिन्ता व्यक्त गरेका छन्। सामुदायिक वन उपभोक्ता समितिले यस्ता गतिविधि रोक्न सचेतना अभियान चलाउँदै कानुनी कारबाहीको चेतावनी दिएको छ।
प्राकृतिक सौन्दर्य, जैविक विविधता र हिमाली दृश्यको संगम बनेको टीएमजे अहिले गुराँसको रङमा रंगिएको छ। यसको संरक्षण र दिगो व्यवस्थापन सबैको साझा जिम्मेवारी भएको सरोकारवालाहरूले बताएका छन्।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।