लोड हुँदैछ...

मेनु

कोशी प्रदेशमा ‘हेल्लो सीएम’ प्रभावकारी, ७० प्रतिशत गुनासो फछ्र्यौट

कोशी प्रदेशमा ‘हेल्लो सीएम’ प्रभावकारी, ७० प्रतिशत गुनासो फछ्र्यौट

विराटनगर । कोशी प्रदेश सरकारले जनगुनासो प्रत्यक्ष सुन्न र समाधान गर्न सञ्चालनमा ल्याएको ‘हेल्लो सीएम’ प्रणाली प्रभावकारी देखिएको छ ।

अनलाइन प्लेटफर्ममार्फत सोझै सरकारसम्म गुनासो पुर्‍याउन सकिने यो प्रणालीले नागरिकका समस्या समाधानमा सकारात्मक नतिजा देखाएको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आधिकारिक पोर्टल र अन्य माध्यमबाट प्राप्त गुनासाहरूमध्ये ७० प्रतिशत अनलाइनबाटै फछ्र्यौट भएको पाइएको छ । कार्यालयको तथ्याङ्कअनुसार हालसम्म दर्ता भएका कुल १२५ वटा गुनासोमध्ये ७७ वटाको पूर्ण रूपमा किनारा लागिसकेको छ ।

सरकारले सर्वसाधारणको सहजताका लागि गुनासो दर्ता गर्न बहुप्रणालीको विकास गरेको छ । सेवाग्राहीले वेब एप, मोबाइल एप, राष्ट्रिय कल, इमेल, चिठी, गुनासो पेटिका वा स्वयं कार्यालयमा उपस्थित भएर पनि आफ्ना समस्या दर्ता गराउन सक्ने प्रबन्ध मिलाइएको छ । दर्ता गरिएको गुनासोको सुनुवाइ कुन चरणमा पुगेको छ भन्ने कुरा गुनासोकर्ताले आफैँ अनलाइनबाट हेर्न सक्ने व्यवस्था समेत गरिएको छ ।
तथ्याङ्कअनुसार गत चैत १२ गतेयता भने ‘हेल्लो सीएम’मा नयाँ गुनासो दर्ता भएका छैनन् ।

पछिल्लो पटक कोसी प्रदेश लोकसेवा आयोगबाट सिफारिस भएका वन रक्षक सहायक तेस्रो तह पदका कर्मचारीहरूले तहअनुसारको पारिश्रमिक पाउनुपर्ने माग गर्दै गुनासो दर्ता गराएका थिए । यसबाट ५१४ जना कर्मचारीको समस्या सम्बोधन भएको छ ।
मुख्यमन्त्री कार्यालयले उक्त गुनासोमाथि सुनुवाइ गर्दै थप व्यवस्थाका लागि संघीय अर्थ मन्त्रालय, सिंहदरबारमा पत्राचार गरिसकेको जानकारी दिएको छ ।

‘हेल्लो सीएम’ मा विशेषगरी सहकारी पीडितका समस्या, कर्मचारीबाट हुने ढिलासुस्ती, कृषि, भ्रष्टाचार, स्वास्थ्य, जलस्रोत तथा सिँचाइसँग सम्बन्धित गुनासाहरू बढी आउने गरेका छन् । यसका साथै आपतकालीन सहायता, मागपत्र, ज्ञापनपत्र र विभिन्न सुझावहरू पनि यसै संयन्त्रमार्फत प्राप्त हुने गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।