इटहरी । सुनसरीको दुहबीमा एकल महिलामाथि भएको कुटपिट घटनामा प्रहरीले दोषीमाथि कार्वाही गर्न बेवास्ता गरेको गुनासो पीडितले गरेकी छन् ।
दुहबी नगरपालिका–५ की सुनिता आनन्द श्रेष्ठले पत्रकार सम्मेलन गर्दै आफूलाई निर्घात कुटपिट गर्ने अनिता भण्डारी र सुनिता दाहाललाई अहिलेसम्म पक्राउ नगरिएको आरोप लगाएकी हुन्।
श्रेष्ठका अनुसार केही दिनअघि घरायसी विवादका क्रममा ती महिलाले उनीमाथि हातपात गरेका थिए, जसबाट उनी घाइते भइ उपचार गराउनुपरेको थियो। घटनापछि उनले इलाका प्रहरी कार्यालय दुहबीमा किटानी जाहेरी दिएपनि उजुरी दर्ता गर्न ढिलाइ भएको र पटक–पटक धाउँदा पनि सुनुवाइ नभएको उनको भनाइ छ।
पत्रकार सम्मेलनमा उनले आफू एकल महिला भएकै कारण कमजोर ठानेर दुर्व्यवहार गरिएको दाबी गर्दै दोषीलाई कानुनी कारबाही गर्न माग गरिन्। साथै उनले जिल्ला प्रशासन कार्यालय सुनसरी, जिल्ला प्रहरी कार्यालय सुनसरी तथा मानवअधिकारकर्मीसमक्ष निष्पक्ष छानबिनको माग गरेकी छन्।
यता, इलाका प्रहरी कार्यालय दुहबी का प्रहरी निरीक्षक शिवराम थापाले आरोपितहरूको खोजतलास भइरहेको र चाँडै पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइने बताएका छन्।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।