लोड हुँदैछ...

मेनु

लालीगुराँसको रङ्गसँगै साहित्यको संगम

लालीगुराँसको रङ्गसँगै साहित्यको संगम

धनकुटा । तेह्रथुमको वसन्तपुरस्थित चोत्लुङ पार्क लालीगुराँसको रङ्गले मात्र होइन, साहित्य र संस्कृतिको माहोलले पनि गुञ्जायमान बनेको छ।

वैशाख १० देखि १४ गतेसम्म सञ्चालन भएको लालीगुराँस महोत्सवले तीनजुरे–मिल्के–जलजले क्षेत्र (टीएमजे) को पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा थपेको छ।

गुराँसको राजधानीका रूपमा चिनिने यस क्षेत्रको प्राकृतिक सम्पदा, मौलिक संस्कृति र स्थानीय पहिचान जोगाउने उद्देश्यले आयोजना गरिएको महोत्सवले वातावरण संरक्षणको सन्देश पनि फैलाएको छ। लालीगुराँस नगरपालिकाका प्रमुख अर्जुन माबोहाङले प्रकृतिमैत्री जीवनशैली अपनाउन सबै पक्षको भूमिका आवश्यक रहेको बताए। उनका अनुसार यस्ता कार्यक्रमले वातावरण संरक्षणप्रति चेतना बढाउने प्रभावकारी माध्यमको काम गर्छन्।

पाँच दिनसम्म चलेको महोत्सवमा रैथाने परिकार, अर्गानिक खाद्य सामग्री र ढाका कपडालगायत स्थानीय उत्पादनको प्रदर्शनी तथा बिक्री गरिएको छ। साथै लिभिङ युमा म्युजियम र टीएमजे क्षेत्रसम्म गुराँस अवलोकन कार्यक्रमले पर्यटकलाई विशेष आकर्षित गरेको छ।

महोत्सवको अर्को प्रमुख आकर्षण साहित्यिक गतिविधि रह्यो। वरिष्ठ साहित्यकार उपेन्द्र सुब्बा सहित करिब २७ जना स्रष्टाले कविता वाचन गर्दै समाज, प्रेम, पीडा र जीवनका विविध आयाम प्रस्तुत गरेका थिए। चन्द्र गुरुङ, राज माङ्लाक, प्रदीप मेन्याङ्वो, हेमन यात्री, सीमा आभाष, गगन योक्पाङ्देन, कविता राई र प्रवीण खालिङ राईलगायतका स्रष्टाको प्रस्तुतीले दर्शकसँग भावनात्मक सम्बन्ध जोडेको सहभागीहरूको भनाइ छ।

टीएमजे क्षेत्र जैविक विविधताका दृष्टिले पनि अत्यन्त महत्त्वपूर्ण मानिन्छ, जहाँ विश्वमा पाइने ३२ प्रजातिका गुराँसमध्ये २८ प्रजाति पाइन्छन्। यही विशेषतालाई केन्द्रमा राखेर आयोजना गरिएको महोत्सवले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

महोत्सवले स्थानीय पहिचान संरक्षण, अर्गानिक जीवनशैलीको प्रवर्द्धन र वातावरणमैत्री व्यवहारतर्फ समाजलाई प्रेरित गर्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।