लोड हुँदैछ...

मेनु

कांग्रेस बदलिएको प्रमाणित भयो, हामी सशक्त प्रतिपक्ष बन्छौँ : भीष्मराज आङदेम्बे

कांग्रेस बदलिएको प्रमाणित भयो, हामी सशक्त प्रतिपक्ष बन्छौँ : भीष्मराज आङदेम्बे

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको नेतामा निर्विरोध निर्वाचित भएपछि भीष्मराज आङदेम्बेले नेपाली कांग्रेस बदलिएको प्रमाणित भएको बताएका छन् । सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा सोमबार बसेको बैठकले उनलाई सर्वसम्मत रूपमा नेता चयन गरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

निर्वाचित भएलगत्तै सञ्चारकर्मीहरूसँग कुरा गर्दै आङदेम्बेले कांग्रेसले नयाँ इतिहास रचेको दाबी गरे । उनले भने, ‘कांग्रेस बदलिएको प्रमाणित भएको छ, कांग्रेसले इतिहास रचेको छ । यो एकता र सहमतिको सन्देश हो ।’

संसद्‌मा कांग्रेसको भूमिकाबारे स्पष्ट पार्दै उनले आगामी दिनमा सरकारका कामकारबाहीमाथि कडा निगरानी राख्ने बताए । राज्यका तर्फबाट जनताको मन दुखाउने कुनै पनि काम भएमा कांग्रेसले सशक्त रूपमा खबरदारी गर्ने उनको भनाइ थियो ।

‘हामी माझ थुप्रै चुनौतीहरू छन् । संसद्‌मा सरकारले गर्ने राम्रा कामको हामी स्वागत गर्छौँ, तर नराम्रो काम गर्दा प्रतिपक्षको रूपमा सशक्त र जिम्मेवार भूमिका निर्वाह गर्नेछौँ,’आङदेम्बेले थपे, ‘यदि राज्यबाट जनताले मन दुखाउने अवस्था सिर्जना भयो भने हामी चुप लागेर बस्दैनौँ, कडा खबरदारी गर्छौं ।’

नेपाली कांग्रेसको संसदीय इतिहासमा यसपटकको निर्वाचनलाई अर्थपूर्ण रूपमा हेरिएको छ । विक्रम संवत् २०६४ सालपछि कांग्रेसले पहिलोपटक संसदीय दलको नेता सर्वसम्मत रूपमा चयन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।