विर्तामोड । पूर्वी नाका काँकडभिट्टा हुँदै चालु आर्थिक वर्षको ९ महिनामा ७ हजार ६४२ पर्यटक नेपाल भित्रिएका छन्। अध्यागमन कार्यालय काँकडभिट्टा का अनुसार साउनदेखि चैतसम्म ८१ देशका पर्यटकले यो नाका प्रयोग गरेका हुन्।
कार्यालय प्रमुख तुलसी भट्टराईका अनुसार नेपाल प्रवेश गर्नेमा सबैभन्दा बढी भुटानी पर्यटक रहेका छन्। उक्त अवधिमा ४ हजार १५४ भुटानी नागरिक नेपाल आएका छन्। त्यसपछि अमेरिका बाट १ हजार ६१२, थाइल्यान्ड बाट ५२५, अस्ट्रेलिया बाट २२९ र बेलायत बाट १८२ पर्यटक नेपाल भित्रिएका छन्।
नेपाल आउने पर्यटकहरूले प्रायः लुम्बिनी, पोखरा, काठमाडौं, चितवन र गोरखा लगायतका प्रमुख पर्यटकीय गन्तव्य रोज्ने गरेका छन्।
यस्तै, सोही अवधिमा ९ हजार ९४२ पर्यटक यही नाका हुँदै नेपालबाट बाहिरिएका छन्। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ८ हजार ७० पर्यटक भित्रिएका थिए भने यस वर्ष आगमनमा ४२८ ले कमी आएको छ।
चालु आवको चैत महिनामा मात्रै १ हजार ६ जना पर्यटक नेपाल प्रवेश गर्दा १ हजार ५४३ जना बाहिरिएका छन्। यस अवधिमा ६ हजार ६९१ पर्यटक भिसा, १२४ नातेदार भिसा, २६ वैवाहिक भिसा र ३६ गैरआवासीय भिसा जारी गरिएको कार्यालयले जनाएको छ।
भिसा शुल्कमार्फत २ करोड ८० हजार ५२० रुपैयाँ राजस्व संकलन भएको अध्यागमन कार्यालयले जनाएको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।