लोड हुँदैछ...

मेनु

कांग्रेस संसदीय दलको नेतामा आङ्देम्बे

कांग्रेस संसदीय दलको नेतामा आङ्देम्बे

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत चयन भएका छन्।

पार्टीभित्र सहमतिको आधारमा नेतृत्व टुंग्याउने प्रयासस्वरूप केन्द्रीय कार्यसम्पादन समितिको पहलपछि उनको नाममा सहमति जुटेको हो।

उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा गठन गरिएको कार्यदलले दल नेता चयनका लागि सांसदहरू र आकांक्षीहरूसँग चरणबद्ध छलफल गरेको थियो। सोही कार्यदलले पार्टी एकताको सन्देश जाने निष्कर्षसहित आङ्देम्बेको नाम अघि सारेको हो।

कार्यदलको सिफारिसपछि सभापति गगन थापाले आज सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा उक्त प्रस्ताव प्रस्तुत गरेका थिए। समितिले सहमतिमै दल नेता चयन गर्ने वातावरण मिलाउँदै आङ्देम्बेको नाम अनुमोदनका लागि अघि बढाएको हो।

संसदीय दलको नेता औपचारिक रूपमा सांसदहरूको बैठकबाट अनुमोदन हुने प्रावधानअनुसार, दिउँसो बस्ने बैठकमार्फत आङ्देम्बेलाई सर्वसम्मत रूपमा घोषणा गर्ने तयारी गरिएको छ । कांग्रेसका ३८ सांसद रहेकामा बहुमतको समर्थन उनलाई प्राप्त भएको नेताहरूले बताएका छन्।

पाँचथर घर भएका आङ्देम्बे समानुपातिकतर्फबाट निर्वाचित सांसद हुन् र । पार्टीका निवर्तमान सहमहामन्त्रीसमेत हुन्। उनले २०७८ सालको १४औँ महाधिवेशनमा शेरबहादुर देउवा पक्षबाट सहमहामन्त्री जितेका थिए। विषेश महाधिवेशनपछि भने गगन थापाको पक्षमा खुलेका छन् ।

पार्टीभित्र देउवा र शेखर कोइराला समूहका सांसदहरूले समेत समर्थन जनाउने संकेत दिएपछि आङ्देम्बेको नाममा सर्वसम्मत सहमति जुटेको नेताहरूको भनाइ छ। पार्टीभित्र व्यापक एकता कायम गर्ने उद्देश्यसहित आङ्देम्बेलाई संसदीय दलको नेतामा चयन गरिएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।