लोड हुँदैछ...

मेनु

बाढीले डाइभर्सन बगाएपछि अबरुद्ध बीपी राजमार्ग अझै खुलेन

बाढीले डाइभर्सन बगाएपछि अबरुद्ध बीपी राजमार्ग अझै खुलेन

काठमाडौं । शनिबार साँझदेखि अवरुद्ध रहेको बीपी राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन। रोशी खोला मा आएको बाढीले बनाइएका अस्थायी डाइभर्सनहरू बारम्बार बगाउँदा यातायात सेवा पुनः सञ्चालनमा ढिलाइ भएको हो।

शनिबारको बाढीपछि आइतबार अधिकांश स्थानमा डाइभर्सन निर्माण गरिएको थियो। तर आइतबार साँझ पुनः परेको वर्षाले चिउरीबास, नार्के र चारसय बेँसी लगायतका क्षेत्रमा बनाइएका डाइभर्सन फेरि बगाएको छ।

इलाका प्रहरी कार्यालय मंगलटार का प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीका अनुसार रोशी खोलाले बगाएका १३ स्थानमध्ये ८ स्थानमा डाइभर्सन बनाइए पनि पुनः वर्षाका कारण ती क्षतिग्रस्त भएका छन्। अहिले सोमबार बिहानदेखि पुनः डाइभर्सन निर्माण कार्य सुरु गरिएको उनले जानकारी दिए।

बाढीका कारण चौकीडाँडा, घुमाउने, चारसय बेँसी, गिम्दी बेँसी, नार्के, चिउरीबास, बोक्सीकुना, कालढुंगा, डालाबेशी, बुलढुंगा र माम्ती क्षेत्रमा डाइभर्सन बगेका छन्। त्यस्तै सिन्धुलीतर्फ आँपघारी र नेपालथोकमा पनि क्षति पुगेको छ।

प्रहरीका अनुसार सडक डिभिजन कार्यालय र ठेकेदार कम्पनीले मौसम सुधार भएलगत्तै क्षतिग्रस्त डाइभर्सन मर्मत गरी यातायात पुनः सञ्चालनमा ल्याउने तयारी गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।