लोड हुँदैछ...

मेनु

जेनजी आन्दोलनमा आगो लगाइएको जिल्ला अदालतका मिसिल प्राप्तीमा सकस

जेनजी आन्दोलनमा आगो लगाइएको जिल्ला अदालतका मिसिल प्राप्तीमा सकस

विराटनगर । गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा विराटनगरस्थित जिल्ला अदालत मोरङमा भएको आगजनीपछि नष्ट भएका मुद्दाका मिसिल पुनःसंकलनमा समस्या देखिएको छ ।

हालसम्म अधिकांश मिसिल पुनःप्राप्त भएपनि ५० वटा विचाराधीन मुद्दाका मिसिल अझै फेला नपरेको अदालतले जनाएको छ ।

जिल्ला न्यायाधीश दुर्गाबहादुर भुषालका अनुसार आगजनीका बेला अदालतमा रहेका १ हजार ४१ विचाराधीन मुद्दाका मिसिलमध्ये ९९१ वटा
मिसिल विभिन्न स्रोतको सहयोगमा संकलन गरिसकिएको छ। बाँकी ५० वटा मिसिल अझै हराइरहेका छन्।

अदालतको मूल अभिलेख नै जलेर नष्ट भएपछि कानुन व्यवसायी, सरकारी वकिलको कार्यालय, मुद्दाका वादी र प्रतिवादी तथा अन्य सरोकारवाला निकायको सहयोगमा मिसिल पुनःसंकलन गरिएको हो। यस्तै, भदौ २४ सम्म फैसला भइसकेका तर लेख्न बाँकी रहेका ७८ मिसिलमध्ये ७५ वटा प्राप्त भइसकेका छन् भने ३ वटा अझै संकलन भएको छैन ।

आगलागीले अदालतको अभिलेख शाखामा रहेका करिब १ लाख २५ हजार मिसिल पूर्ण रूपमा नष्ट गरेको थियो। तीमध्ये हालसम्म २ हजार ५४८ मिसिल मात्र पुनःप्राप्त गरिएको छ।

फैसला कार्यान्वयनसँग सम्बन्धित तहसिल शाखामा रहेका १ हजार ७ सय मिसिलमध्ये १ हजार ३५९ मिसिल संकलन भइसकेका छन् भने ३४१ अझै खोजीको क्रममा छन्।

विक्रम संवत २०२१ सालमा स्थापना भएको जिल्ला अदालतमा भदौ २४ गते ठूलो क्षति भएको थियो । आगोले जिल्ला अदालत परिसरमा रहेका ६२ वटा निजी मोटरसाइकल र स्कुटर, ५९ वटा मुद्दाको दसीको रूपमा राखिएका मोटरसाइकल, न्यायाधीशका ७ वटा गाडी तथा अदालतका ३ वटा चार पांग्रे गाडीहरु जलाइएको थियो

आन्दोलनका क्रममा भएको आगजनीले अदालतका जिन्सी किताब, लगत किताबलगायतका महत्वपूर्ण अभिलेख पूर्ण रूपमा जलेर नष्ट भएको थियो । जसका कारण न्यायिक प्रक्रिया पुनःस्थापनामा चुनौती थपिएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।