विराटनगर । देशभरको मौसममा फेरबदल आएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका साथै अन्य पहाडी भू–भागहरूमा सामान्य बदली रहनेछ भने बाँकी स्थानहरूमा आंशिक बदली रहनेछ।
विशेषगरी कोशी प्रदेशमा हिजोदेखि नै मौसम थप सक्रिय देखिएको छ। कोशीका पहाडी तथा तराईका जिल्लाहरूमा हिजैदेखि भारी तथा मध्यम वर्षा भइरहेको छ । आज बिहानैदेखि विराटनगर लगायतका क्षेत्रमा मेघगर्जन र चट्याङसहित पानी परिरहेको छ, जसका कारण जनजीवन केही प्रभावित भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूका साथै मधेश प्रदेशका थोरै स्थानहरूमा वर्षाको सम्भावना छ।
त्यसैगरी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानहरू र लुम्बिनी प्रदेशको तराईका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
एकतर्फ वर्षा र बदलीको अवस्था रहँदा अर्कोतर्फ लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रहरूमा भने गर्मी बढ्ने सम्भावना देखिएको छ ।
मेघगर्जन, चट्याङ र वर्षाको सम्भावना रहेका क्षेत्रहरूमा कृषि, स्वास्थ्य, र यातायातमा पर्न सक्ने असरबाट बच्न तथा आवश्यक पूर्वतयारी अपनाउन विभागले सर्वसाधारणमा अनुरोध गरेको छ ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।