लोड हुँदैछ...

मेनु

विराटनगरमा यसरी जन्मियो ‘गोटी सोडा’

विराटनगरमा यसरी जन्मियो ‘गोटी सोडा’

विराटनगर । वैदेशिक रोजगारीका लागि राहदानी हातमा लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘डिपार्चर गेट’ तर्फ मोडिनु नेपाली युवाहरूको नियति नै बनिसकेको छ । तर, विराटनगरका पाँच युवाले भने यो स्थापित भाष्यलाई चुनौती दिँदै फरक बाटो रोजेका छन् ।

दुई दशक परदेशमा पसिना बगाएका र विदेश जाने अन्तिम तयारीमा रहेका युवाहरूको सामूहिक प्रयासले अहिले विराटनगरको गल्लीमा ‘गोटी सोडा’ को नयाँ स्वाद भित्र्याएको छ ।

काठमाडौँ, बिर्तामोड, इटहरी र विराटनगरका ५ युवाहहरू— जनककुमार श्रेष्ठ, अनुप गजुरेल, दीपेन्द्र खुलाल, सन्देश बस्नेत र उमेश तिवारीको संयुक्त लगानीमा विराटनगर–७ स्थित मातृका गल्ली (गोल्छा रोड( मा ‘गोटी सोडा’ सञ्चालनमा आएको हो । ३० लाख रुपैयाँको लगानीमा सुरु गरिएको यो व्यवसायले केवल प्यास मेटाउने काम मात्र गरेको छैन, स्वदेशमै केही गर्न सकिन्छ भन्ने आत्मविश्वास समेत जगाएको छ ।

यस समूहका जनक र दीपेन्द्र वैदेशिक रोजगारीको सिलसिलामा झन्डै दुई दशक विदेशमा बिताएर फर्किएका हुन् । अन्य तीन सञ्चालक भने विदेश जाने अन्तिम तयारीमा थिए । तर, विदेशको गर्मीमा अर्काको काम गर्नुभन्दा आफ्नै माटोमा उद्यम सुरु गर्ने योजनाले उनीहरूलाई स्वदेशमै रोकिदियो ।

‘लामो समय विदेशमा पसिना बगाएपछि आफ्नै भूमिमा केही गरौँ र थप केहीलाई रोजगारी सिर्जना गरौँ भन्ने उद्देश्यले यो व्यवसाय थालेका हौँ,’ सञ्चालक जनककुमार श्रेष्ठ भन्छन्, ‘विदेश जान ठिक्क परेका साथीहरूलाई पनि यतै सम्भावना छ भनेर कन्भिन्स गर्‍यौँ । अहिले हामी सबै आफ्नै काममा सन्तुष्ट छौँ ।’

विराटनगरको प्रचण्ड गर्मीलाई लक्षित गर्दै उनीहरूले ‘गर्मी ठाउँ, सोडा खाउँ ठाउँको ठाउँ’ भन्ने नाराका साथ सोडाको विविधता पस्किएका छन् । यहाँ अहिले १० वटा फरक–फरक स्वादका सोडा उपलब्ध छन् । तीमध्ये ग्यास्ट्रिक, ह्याङओभर र क्लब सोडा ग्राहकको रोजाइमा पर्ने गरेका छन् ।

अर्का सञ्चालक अनुप गजुरेलका अनुसार बजारमा विदेशी पेय पदार्थको वर्चस्वलाई कम गर्न स्वदेशी उत्पादन र स्थानीय स्वादलाई प्राथमिकता दिइएको हो । ‘क्लब सोडालाई हामी सोडाको राजा मान्छौँ, जसलाई रिमिक्स गरेर ग्यास्ट्रिक र ह्याङओभर सोडा बनाइन्छ,’ गजुरेलले दाबी गरे, ‘हाम्रो ग्यास्ट्रिक सोडा नियमित एक साता सेवन गर्दा स्वास्थ्यमा सकारात्मक प्रभाव परेको अनुभव उपभोक्ताले सुनाउनुहुन्छ ।’

यी युवाहरूको सपना विराटनगरमा मात्र सीमित छैन । उनीहरूले यस व्यवसायलाई कोशीका अन्य प्रमुख सहरहरूमा विस्तार गर्ने योजना बुनेका छन् । आगामी एक वर्षभित्र इटहरी, धरान, दमक, बिर्तामोड र काँकडभिट्टामा शाखाहरू सञ्चालन गर्ने उनीहरूको लक्ष्य छ । हाल मातृका गल्लीमा मुख्य कार्यालय रहेको यस उद्योगको एउटा शाखा महेन्द्र चोकस्थित हिमालय रोडमा सञ्चालनमा आइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।