लोड हुँदैछ...

मेनु

कांग्रेस संसदीय दलको नेता चयनमा रस्साकस्सी : सहमति जुटाउन सकस, भोलिसम्मको डेडलाइन

कांग्रेस संसदीय दलको नेता चयनमा रस्साकस्सी : सहमति जुटाउन सकस, भोलिसम्मको डेडलाइन

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र संसदीय दलको नेता चयन गर्ने विषय पेचिलो बन्दै गएको छ। निर्वाचन प्रक्रियालाई थाती राखेर सहमतिबाटै नेता छान्न शीर्ष नेताहरू सक्रिय भए पनि हालसम्म कुनै निष्कर्ष निस्कन सकेको छैन।

हिजो बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सहमतिको प्रयास गर्ने जिम्मा शीर्ष नेतृत्वलाई दिएको थियो। सोही बमोजिम उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा गठित समितिले आन्तरिक छलफल तीव्र पारेको छ। समितिमा उपसभापति पुष्पा भुसाल, महामन्त्री प्रदीप पौडेल, नेता गुरुराज घिमिरे र सहमहामन्त्री प्रकाश रसाईली रहेका छन्।

समितिका सदस्य एवं महामन्त्री प्रदीप पौडेलले सहमतिका लागि अधिकतम प्रयास भइरहेको जानकारी दिए। ‘हामी हिजोदेखि नै निरन्तर गृहकार्यमा छौँ। पहिलो प्राथमिकता सहमति नै हो, तर आजै कुरा मिल्ने सम्भावना न्यून छ,’ पौडेलले भने, ‘भोलिसम्म सहमतिको प्रयास गर्छौँ, नभए निर्वाचन प्रक्रिया सुरु हुन्छ।’

संसदीय दलको नेताका लागि भीष्मराज आङ्देम्बे, अर्जुननरसिंह केसी र मोहन आचार्यको दाबी छ। तर, यी दाबेदारहरूबीचको फरक(फरक अडानले गर्दा समिति दबाबमा परेको छ।

विशेषगरी नेता अर्जुननरसिंह केसीले आफ्नो नाममा सर्वसम्मत हुनुपर्ने सर्त राखेका छन्। ‘पार्टीमा मेरो योगदानको आधारमा दलको नेतामा मेरो दाबी स्वाभाविक हो। सहमति भए म जिम्मेवारी लिन तयार छु, तर निर्वाचन भए म लड्दिनँ,’ केसीले प्रस्ट पारे। उनले आफूलाई ‘गगन थापाको ससुरा’को रूपमा मात्रै चित्रण गरिएकोमा आपत्ति जनाउँदै आफ्नो राजनीतिक विरासत गगनको जन्मभन्दा अघिको भएको टिप्पणी गरे।

यता, उपसभापति विश्वप्रकाश शर्मा भने केसीको नाममा सहमत हुन सकेका छैनन्। उनले पार्टीभित्र एकताको सन्देश दिन भन्दै भीष्मराज आङ्दाम्बेलाई अघि सार्नुपर्ने अडान लिएका छन्। सभापति गगन थापाले भने प्रत्यक्ष निर्वाचित सांसद मोहन आचार्यलाई अघि बढाउन चाहेको चर्चा पार्टी वृत्तमा छ।

अर्का दाबेदार भीष्मराज आङ्दाम्बेले भने आफूलाई कुनै गुटको लेभल नलगाउन आग्रह गरेका छन्। कुनै समय शेरबहादुर देउवानिकट मानिने आङ्दाम्बे पछिल्लो समय सभापति गगन थापाको कार्यशैलीप्रति सकारात्मक देखिएका छन्। उनले भनेका छन्, ‘पार्टीभित्र भागबन्डाको राजनीति अब पुरानो भइसक्यो। सभापति थापाको नेतृत्वमा पार्टी र संसद्लाई सशक्त बनाउन म जुनसुकै भूमिका निभाउन तयार छु।’

उनले व्यक्तिगत दाबीभन्दा पनि पार्टीको हित र नयाँ नेतृत्वको योजनालाई साथ दिनु अहिलेको आवश्यकता रहेको बताएका छन्। समितिले भोलिसम्म सहमति जुटाउन नसके लोकतान्त्रिक प्रक्रिया (निर्वाचन) बाटै नेता छानिने निश्चित छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।