विराटनगर । पत्रकार तथा साहित्यकार कृष्ण अधिकारीको नियात्रा कृति ‘मैले देखेको अमेरिका’ विराटनगरमा एक विशेष समारोहका बीच विमोचन गरिएको छ । नेपाली लेखक संघ, कोशी प्रदेशको आयोजनामा भएको उक्त कार्यक्रममा लेखक अधिकारीको अमेरिका भ्रमणका विभिन्न पाटाहरूलाई समेटिएको पुस्तक सार्वजनिक गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. गोपाल भण्डारीले कृतिको विमोचन गर्दै अधिकारीको पुस्तकले अमेरिकालाई नेपाली आँखाबाट वस्तुगत रूपमा नियालेको बताए । एनले भने, “लेखकले अमेरिकाको भौतिक विकास मात्र नभई त्यहाँको लोकतान्त्रिक चरित्र, मानवीय व्यवहार र सामाजिक प्रणालीलाई निकै गहिराइमा पुगेर विश्लेषण गरेका छन् । यो पुस्तक अमेरिका बुझ्न चाहने नेपालीका लागि एउटा महत्वपूर्ण दस्तावेज हो ।”
पुस्तकको समीक्षा गर्दै चर्चित कवि मनु मञ्जिलले अधिकारीको लेखनमा तथ्य र अनुभूतिको सुन्दर सन्तुलन रहेको उल्लेख गरे । “स्ट्याच्यु अफ लिबर्टी फ्रान्सले उपहार दिएको रोचक तथ्यदेखि लिएर अमेरिकीहरूको समय व्यवस्थापनसम्मका ४१ वटा संस्मरणहरू यसमा छन्,” मञ्जिलले भने, “लेखकले अमेरिकालाई देवत्वकरण नगरी त्यहाँको यथार्थलाई पाठकका सामु पस्किनुभएको छ ।”
यस्तै, समालोचक भूषण दाहालले पुस्तकको भाषा शैली सरल र सुत्रात्मक रहेको भन्दै प्रशंसा गरे । अर्का वक्ता कविराज न्यौपानेले भोजपुरको डिङ्ग्लाबाट अमेरिका पुगेका लेखकले दुई भिन्न भूगोल र संस्कृतिको तुलनात्मक चित्रण रोचक ढंगले गरेको टिप्पणी गरे । कार्यक्रमका अन्य वक्ताहरूले अधिकारीको पत्रकारिताको अनुभवले नियात्रालाई थप विश्वसनीय बनाएको धारणा राखेका थिए ।
लेखक कृष्ण अधिकारीले आधुनिक पाठकको समय अभावलाई ध्यानमा राखेर आफूले लामा व्याख्याभन्दा पनि छोटो र सुत्रात्मक शैलीमा ४१ वटा यात्रा स्मरणहरूलाई समेटेको जानकारी दिए । उनले आफ्नो भ्रमणका क्रममा देखिएका साना तर अर्थपूर्ण घटनाहरूलाई पुस्तकमा स्थान दिएको बताए ।
नेपाली लेखक संघ कोशी प्रदेशका अध्यक्ष गोकुल अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा कोमल कृष्ण अधिकारी, सुमित बुराकी, विवश पोखरेल लगायतका साहित्यकार तथा सञ्चारकर्मीहरूको बाक्लो उपस्थिति रहेको थियो । हंशबाहिनी पब्लिकेशनले पुस्तक प्रकाशन गरेको हो ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।