लोड हुँदैछ...

मेनु

कांग्रेस संसदीय दलको नेता छान्न आज निर्वाचन: त्रिपक्षीय प्रतिस्पर्धाको तयारी

कांग्रेस संसदीय दलको नेता छान्न आज निर्वाचन: त्रिपक्षीय प्रतिस्पर्धाको तयारी

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज (शुक्रबार) आफ्नो संसदीय दलको नेता चयन गर्दैछ। पार्टीभित्रको आन्तरिक समीकरण र गुटगत रस्साकस्सीका बीच नयाँ नेतृत्व छान्न दिउँसो ३ बजे उम्मेदवारी दर्ता र अपराह्न ५ बजे मतदानको तालिका तय गरिएको छ।

सह-महामन्त्री प्रकाश स्नेही रसाइलीको संयोजकत्वमा गठित निर्वाचन समितिले मतदानका लागि आवश्यक तयारी पूरा गरिसकेको छ। कांग्रेसका कुल ३८ सांसद (प्रत्यक्ष १८ र समानुपातिक २०) ले दलको नेता चयनका लागि मतदान गर्नेछन्। संवैधानिक परिषद्को सदस्य समेत हुने भएकाले यस पदलाई कांग्रेसभित्र प्रतिष्ठाको विषय बनाइएको छ।

संसदीय दलको नेताका लागि भीष्मराज आङ्देम्बे, अर्जुननरसिंह केसी र मोहन आचार्यले मुख्य दाबी प्रस्तुत गरेका छन्। वर्तमान शक्ति सन्तुलनमा आङ्देम्बेलाई उपसभापति विश्वप्रकाश शर्मासहित देउवा र कोइराला पक्षको साथ रहेको चर्चा छ भने अर्जुननरसिंह केसी र मोहन आचार्यलाई सभापति गगन थापा पक्षको समर्थन रहेको बुझिएको छ।

महामन्त्री प्रदीप पौडेलले सहमतिका लागि अधिकतम प्रयास भइरहेको बताए पनि आकाङ्क्षीहरू पछि नहटेका कारण निर्वाचन हुने सम्भावना बलियो छ। विशेष महाधिवेशनपछि चुलिएको आन्तरिक ध्रुवीकरणका कारण यो निर्वाचनलाई पार्टीको आगामी राजनीतिक दिशा तय गर्ने कडीको रूपमा समेत हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।