लोड हुँदैछ...

मेनु

प्रचण्डकै भाषामा गगनले भने, ‘सिंहले अगाडि फड्को मार्न दुई कदम पछाडि हटेको हो, काँग्रेस फेरि जुर्मुराउँछ’

प्रचण्डकै भाषामा गगनले भने, ‘सिंहले अगाडि फड्को मार्न दुई कदम पछाडि हटेको हो, काँग्रेस फेरि जुर्मुराउँछ’

विराटनगर । देशभर चुनावी पराजय व्यहोरिरहेको बेला आफूले मात्रै निर्वाचन जितेपछि पत्रकारले सोधेको प्रश्नको उत्तर दिने क्रममा नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले रुकूम पूर्वमा भनेका थिए, ‘थोरै सिट ल्यायो भनेर प्रचण्डलाई हेप्ने दुस्साहस नगरुन् भनेर म खबरदारी गर्न चाहन्छु । जंगलमा सिंह हिँडिसकेपछि अरुको के हालत हुन्छ, हामी सबैलाई थाहा छ ।’

काँग्रेस सभापति गगन थापाले बुधबार विराटनगरमा आयोजित कोशी प्रदेशको चुनावी समीक्षा बैठकलाई सम्बोधन गर्ने क्रममा प्रचण्डकै भाषामा त होइन तर, उनले पनि काँग्रेसलाई सिंहसँग तुलना गरे । सभापति थापाले कहिलेकाहीँ सिंहले पनि अगाडि फड्को मार्नका लागि दुई कदम पछाडि सार्ने भन्दै निर्वाचनको परिणामबाट नआत्तिन कार्यकर्तालाई आग्रह गरेका हुन् ।

‘कहिलेकाहीँ सिंहले पनि अगाडि जानका लागि दुई चाल पछाडि सर्ने हो, हामी पनि फेरि संगठित हुन र बलियो भएर आउनका लागि पछाडि हटेका हौं,’ थापाले भने, ‘यो हारबाट खुम्चिने होइन, कमजोरी सुधारेर अघि बढ्ने अवसर हो ।’

निर्वाचनको परिणाम काँग्रेसका लागि सुखद नरहेको स्वीकार गर्दै सभापति थापाले अब हारको चिन्ता गरेर बस्ने भन्दा पनि हारको कारणबारे चिन्तन गर्नुपर्नेमा जोड दिए । ‘चिन्ताले हामीलाई गलाउँछ, थकाउँछ र नकारात्मक ऊर्जा दिन्छ । तर चिन्तनले समाधानको बाटो देखाउँछ । हामी किन हा¥यौँ ? हाम्रा १० लाख मतदाता हामीबाट किन टाढिए ? यसको निर्मम समीक्षा जरुरी छ,’ उनले भने ।

सभापति थापाले पछिल्लो समय राजनीतिमा पुरानो भर्सेस नयाँ शक्तिबीचको द्वन्द्व सिर्जना गरिएको र त्यसमा काँग्रेस कतै न कतै चुकेको बताए । सत्ता गठबन्धनको राजनीतिका कारण काँग्रेसको आफ्नै पहिचान धमिलिएको उनको तर्क थियो । ‘हामी एमाले, माओवादीसँग यति धेरै मिसियौँ कि जनताले काँग्रेस कुन हो भनेर चिन्नै छोडे,’ उनले भने, ‘बङ्गलादेशमा १५ वर्ष सत्तामा रहेको दलले जस्तै हामीले पनि एन्टी–इन्कम्बेन्सीको सामना गर्नुपरेको छ ।’

पार्टीको परम्परागत संगठन संरचनाले मात्रै अबको निर्वाचन जित्न नसकिने थापाले दाबी गरे । ‘हिजो घरभित्रका अग्रजले भोट कहाँ हाल्ने भनेर सिकाउँथे, आज कक्षा ९ र १० मा पढ्ने छोराछोरीले हजुरआमालाई कुन चिन्हमा भोट हाल्ने भनेर प्रभाव पारिरहेका छन्,’ थापाले भने, ‘हामीले टिकटक र फेसबुक जस्ता नयाँ मिडियाको प्रभावलाई बुझ्न सकेनौँ । नयाँ मिडियाले भावना र उत्तेजना बेच्छ, हामीले हाम्रो काम र इतिहास बेच्न सकेनौँ ।’

पार्टीलाई आधुनिक बनाउन थापाले डिजिटल आइडेन्टिटीको प्रस्ताव अघि सारेका छन् । ८ लाख क्रियाशील सदस्य भएको पार्टीमा ८० हजारको पनि फोन नम्बर सही नहुनु दुःखद भएको बताउँदै उनले भने, ‘अब क्रियाशील सदस्य आफैँले डिजिटल माध्यमबाट सदस्यता नवीकरण गर्ने व्यवस्था मिलाउँदैछौँ । जसले फोन नम्बर र डिजिटल पहिचान दिन मान्दैन, ऊ कसरी क्रियाशील सदस्य हुन सक्छ ?’

जनतामा काँग्रेसप्रति पुरानो, भ्रष्ट र अक्षम भन्ने गलत छाप परेको भन्दै थापाले त्यसलाई चिर्न प्रदेश र स्थानीय सरकारमार्फत सुशासनको नमुना पेश गर्नुपर्ने बताए । उनले भ्रष्टाचारको मुद्दामा काँग्रेसले कसैसँग सम्झौता नगर्ने र सुशासनमा निर्मम भएर लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

१५ औँ महाधिवेशनको तयारी र पार्टीको आन्तरिक सुदृढीकरणका लागि यो समीक्षा बैठक कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्दै थापाले भने, ‘हामीसँग बीपी र किसुनजीको लिगेसी छ, अनुभवी नेताहरूको विज्डम र युवाहरूको ऊर्जा छ । यी सबैलाई मिलाएर काँग्रेसलाई फेरि मुलुकको पहिलो र भरपर्दो शक्ति बनाउँछौँ ।’ सभापति थापाले कोशी प्रदेशका कार्यकर्तालाई उच्च मनोबलका साथ जनताको घरदैलोमा जान र हराएका मतदाताको मन जित्न निर्देशन समेत दिए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।