लोड हुँदैछ...

मेनु

चर्को विवादमा फसेका गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

चर्को विवादमा फसेका गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन्। बुधबार सामाजिक सञ्जालमार्फत उनले पदबाट अलग भएको घोषणा गरेका हुन्।

राजीनामा सन्देशमा उनले आफूसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा ‘कन्फ्लिक्ट अफ इन्टेरेस्ट’ नदेखियोस् भन्ने उद्देश्यले राजीनामा दिएको उल्लेख गरेका छन्।

“मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा कन्फ्लिक्ट अफ इन्टेरेस्ट नदेखियोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृह मन्त्री पदबाट राजीनामा दिएको छु,” उनले लेखेका छन्। गुरुङले आफूले चैत १३ गतेदेखि गृहमन्त्रीको जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्दै आएको उल्लेख गर्दै पछिल्ला दिनमा उठेका शेयरसम्बन्धी प्रश्न, टिप्पणी र जनचासोलाई गम्भीर रूपमा लिएको बताएका छन्। उनले पदभन्दा नैतिकता ठूलो भएको र जनविश्वास नै सबैभन्दा महत्वपूर्ण भएको धारणा राखेका छन्।

प्रधानमन्त्री शाहले सरकार गठन गरेकै दिन गुरुङलाई गृहमन्त्रीको जिम्मेवारी सुम्पिएका थिए। कार्यकालको सुरुवाती दिनमा उच्च पदस्थ कर्मचारीहरूलाई पक्राउ गरी सुशासनको सङ्केत दिएर चर्चा कमाएका गुरुङ पछिल्लो समय भने विवादित व्यवसायीसँग सेयर कारोबारमा संलग्न रहेको तथ्य बाहिरिएपछि आलोचनाको केन्द्रमा परेका थिए।

सरकारकै अर्का श्रम मन्त्री दीपक साहलाई विवादमा मुछिएकै आधारमा प्रधानमन्त्रीले तत्काल बर्खास्त गर्दा गुरुङलाई भने संरक्षण गरेको भन्दै सरकारको समेत आलोचना भइरहेको थियो।

उच्च स्रोतका अनुसार, गुरुङले राजीनामा दिनुअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग गम्भीर छलफल गरेका थिए। लामिछानेसँगको सोही संवाद र प्रधानमन्त्रीको समेत ग्रिन सिग्नल पाएपछि उनले पदबाट हट्ने निर्णय लिएका हुन्।

प्रधानमन्त्री शाहले मन्त्रिमण्डलमा क्लिन इमेज भएका व्यक्तिहरूलाई मात्र राख्ने अडान राखेपछि गुरुङमाथि राजीनामा दिन ठुलो दबाब परेको थियो। गुरुङको राजीनामासँगै अब गृह मन्त्रालयको जिम्मेवारी कसले पाउने भन्ने विषयमा राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।