इटहरी । सुनसरीको बर्जु गाउँपालिका–३ खरीटोलदेखि करिब ८ सय मिटर दक्षिण भारततर्फ पर्ने सीमाक्षेत्रबाट सशस्त्र प्रहरी बल, नेपालले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ।
बुधबार बिहान करिब २:४५ बजे केही व्यक्तिहरूले टाउकोमा बोकेर नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा अन्दाजी १६० केजी (६ पोका) तयारी अवस्थामा रहेको प्रतिबन्धित लागुऔषध गाँजा मोबाइल गस्ती टोलीले नियन्त्रणमा लिएको हो।
कप्तानगंजस्थित सीमा सुरक्षा गुल्मबाट सशस्त्र प्रहरी नायव उपरीक्षक नन्द किशोर प्रसाद महतोको कमाण्डमा खटिएको टोली र अमडुवास्थित बिओपीबाट सशस्त्र प्रहरी निरीक्षक दिलकुमार माझीको नेतृत्वमा खटिएको टोली गरी जम्मा १० जनाको संयुक्त गस्तीले उक्त गाँजा फेला पारेको हो।
प्रहरी टोलीलाई देखेपछि गाँजा बोकेका व्यक्तिहरू सामान छाडेर फरार भएका छन्। बरामद गरिएको गाँजा नियन्त्रणमा लिएर बिओपी अमडुवामा राखिएको छ।
घटनाबारे जानकारी पाउनेबित्तिकै सुनसरीका सशस्त्र प्रहरी उपरीक्षक श्यामकुमार कार्कीले आवश्यक विवरण संकलन गरी सार्वजनिक गरिएको बताए। फरार व्यक्तिहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।