विराटनगर । नेपालमा अहिले पनि पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै रहेको छ । यद्यपि मौसममा भने अघिल्ला दिनको तुलनामा सुधार भइरहेको छ । पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली कायम रहेको र तराई मधेशमा गर्मी बढ्न थालेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसो देशको हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ । कोशी प्रदेशको पहाडी र तराई तथा बाँकी पहाडी भूभागमा आंशिक बादल लाग्ने र बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
मधेस प्रदेश लगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यका र खोँचहरूमा तातो दिन हुने सम्भावना रहेको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहरको पनि सम्भावना देखिन्छ । केही दिन यता तराईको तापक्रम उल्लेख्य वृद्धि भएको छ ।
आज राति देशको हिमाली भूभागमा आंशिक बादल लाग्ने र पहाडी र तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।