पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिकाको चारराते–फालोट क्षेत्रमा नौ वर्षदेखि सञ्चालन हुँदै आएको चौँरी पर्यटन महोत्सवले स्थानीय चौँरीपालकहरूको जीवनशैलीमै सकारात्मक परिवर्तन ल्याएको छ।
महोत्सवकै प्रभावले चौँरीपालन व्यवसाय विस्तार हुनुका साथै चौँरीजन्य उत्पादनले अन्तर्राष्ट्रिय बजारसमेत पाउन थालेको छ।
समुद्री सतहबाट करिब ३५०० मिटर उचाइमा अवस्थित फालोट क्षेत्रमा २०७४ सालदेखि सुरु भएको महोत्सवपछि चौँरी गोठहरूको संख्या उल्लेख्य रूपमा बढेको छ। अगुवा चौँरीपालक चन्द्रलाल नेपालका अनुसार पहिले १८ वटा मात्र रहेका गोठ अहिले बढेर ३१ पुगेका छन्। गोठहरूमा सुधार भई अहिले पर्यटक बस्न मिल्ने ‘गोठ–बास’ (गोठ–स्टे)को अवधारणासमेत विकास भएको छ।
इलामको सन्दकपुर आहालदेखि फालोटसम्मका करिब १०–१२ वटा गोठले पर्यटकलाई बसोबासको सुविधा दिँदै आएका छन् । जहाँ एकैपटक करिब १५० जनासम्म अटाउन सक्छन्। वार्षिक रूपमा कम्तीमा ५ हजार पर्यटक भित्रिने गरेको स्थानीय बताउँछन्। वर्षायाममा भने गोठहरू तल सारिने भएकाले पर्यटकलाई आवागमनमा कठिनाइ हुने गरेको छ।
महोत्सवकै कारण पहिले घिउ र छुर्पीमा सीमित उत्पादन अहिले याक चिजसम्म विस्तार भएको छ। कञ्चनजङ्घा याक चिज उत्पादक समूह का अध्यक्ष रामचन्द्र गुरुङका अनुसार चौँरीजन्य सामग्रीको माग बढेसँगै मूल्य पनि राम्रो पाउन थालेका छन्। चौँरीका सिङ, पुच्छरदेखि हाडखोरसम्म बिक्री हुने हुँदा आम्दानीका स्रोत विविध भएका छन्।
पछिल्लो समय ताप्लेजुङ र भुटानबाट याक ल्याएर उन्नत प्रजातिको विकास गर्ने प्रयास भइरहेको छ। यसबाट चौँरीको संख्या बढ्दै गएको र व्यवसाय विस्तारमा टेवा पुगेको गुरुङको भनाइ छ। यद्यपि उत्पादन लागतको तुलनामा मूल्य कम रहेको भन्दै उनले सरकारी सहयोग, विशेषगरी कृत्रिम गर्भाधान कार्यक्रम आवश्यक रहेको औँल्याए।
हाल याक चिज प्रतिकिलो ८०० देखि १००० रुपैयाँसम्म र चौँरीको घिउ करिब ८०० रुपैयाँमा बिक्री भइरहेको छ। यस वर्ष महोत्सवमा पाँचथरकै याङरुमा उत्पादित भेडाको घिउ पनि प्रदर्शन गरिएको थियो, जसको मूल्य प्रतिकिलो १२ हजार रुपैयाँसम्म पर्ने बताइएको छ।
हरेक नयाँ वर्षको अवसरमा आयोजना हुने यस महोत्सवमा नेपालसहित भारत, भुटान र बङ्गलादेशबाट पर्यटक आउने गर्छन्। सयौँ चौँरीको बथान अवलोकन, हिमशृङ्खलाको दृश्यावलोकन तथा गुराँस र चिमल फुलेको प्राकृतिक सौन्दर्यले पर्यटकलाई आकर्षित गर्ने गरेको छ।
स्थानीय तहका अनुसार चौँरी महोत्सवले पर्यापर्यटन प्रवर्द्धन मात्र होइन, हिमाली संस्कृतिको संरक्षण र स्थानीय अर्थतन्त्र सुदृढीकरणमा समेत महत्वपूर्ण भूमिका खेलेको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।