विराटनगर । सङ्खुवासभाको मकालु गाउँपालिका–२ फेकेदेममा खोलामा डुबेर एकै परिवारका दुई बालकको मृत्यु भएको छ। आइतबार बेलुकी सुकेखोलामा पौडी खेल्न गएका १२ वर्षीय सुवाष र ४ वर्षीय आकाशको डुबेर मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका अनुसार, ढुङ्गाबाट चिप्लिएर खोलामा खसेका भाइलाई बचाउन खोज्दा दाजुको समेत ज्यान गएको हो। पौडी खेल्ने क्रममा ४ वर्षीय आकाश अचानक ढुङ्गाबाट चिप्लिएर खोलामा खसेका थिए। उनलाई बचाउन दाजु सुवाषले खोलामा हामफालेका थिए।
प्रहरी निरीक्षक मेघराज अर्यालका अनुसार, खोलामा हामफालेका दुवै दाजुभाइ करिब १५ मिटर तल खस्दा गम्भीर घाइते भएका थिए। घटनाको जानकारी पाएलगत्तै प्रहरी र स्थानीयवासीको टोलीले उनीहरूलाई उद्धार गरी उपचारका लागि मकालु स्वास्थ्य केन्द्र पुर्याएका थिए। तर, उपचारकै क्रममा दुवै बालकको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृतक दुवै बालकको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ। एकै घरका दुई सन्तानको असामयिक निधनले फेकेदेम गाउँ नै शोकमग्न बनेको छ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।