विराटनगर । कोशी प्रदेशमा पछिल्लो समय देखिएको घातक बर्डफ्लु (संक्रमणका कारण पोल्ट्री व्यवसाय चरम संकटमा परेको छ । आइतबार कोशी प्रदेशकै सबैभन्दा ठूला दुईवटा पोल्ट्री फार्ममा रहेका २ लाख २७ हजारभन्दा बढी कुखुराहरू नष्ट गर्ने प्रक्रिया सुरु गरिएको छ । यो कोशी प्रदेशको इतिहासकै सबैभन्दा ठूलो संख्यामा कुखुरा नष्ट गर्न लागिएको घटना हो ।
सुनसरीको रामधुनी नगरपालिकामा रहेको सुनसरी पोल्ट्री फार्म र मोरङको बूढीगंगास्थित पूर्वाञ्चल ग्रुपको फार्ममा संक्रमण पुष्टि भएपछि सरकारी टोलीले आजदेखि ‘कुलिङ’ (कुखुरा मार्ने कार्य) सुरु गर्न लागिएको हो ।
सुनसरीको रामधुनीमा सञ्चालित प्रदेशकै ठूलो मध्येको एक ‘सुनसरी पोल्ट्री फार्म’मा बर्डफ्लु संक्रमण फैलिएको छ । बर्डफ्लुका कारण त्यहाँ रहेका १ लाख ५५ हजार कुखुराहरू नष्ट गर्न लागिएको हो ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, सुनसरीका प्रमुख डा. मनोज कुमार महतोका अनुसार पशु सेवा विभागले दुई दिन अगाडि नै उक्त फार्मका कुखुरामा बर्डफ्लु भएको पुष्टि गरेको थियो । ‘विभागबाट बर्डफ्लुको पुष्टि भएलगत्तै हामीले नियन्त्रणका लागि तयारी थालेका थियौँ । आजदेखि हामी कुखुरा नष्ट गर्ने कार्यमा जुटेका छौँ,‘डा. महतोले भने । उक्त फार्ममा रहेका कुखुराहरूमध्ये झण्डै ७ हजार कुखुरा संक्रमणका कारण आफैँ मरिसकेका छन् भने बाँकी रहेका सबै कुखुरालाई संक्रमण थप फैलिन नदिन नष्ट गर्नुपर्ने बाध्यता रहेको उनले बताए ।
फार्ममा कुखुरा नष्ट गर्न जनशक्तिको ठूलो परिचालन गरिएको छ । फार्मका ८० जना कामदार र बाहिरबाट थपिएका ३० जना गरी कुल ११० जनाको टोली कुखुरा मार्ने र खाल्डो खनेर पुर्ने कार्यमा खटिने छन् । ‘नष्ट गर्ने पत्र विभागले पठाएको छैन्,‘ डा. महतोले भने ‘आज नै पत्र आउने जानकारी भएको छ । दिउसोदेखि नै नष्ट गर्न थाल्छौ ।’ डा. महतोका अनुसार यति ठूलो संख्यामा कुखुरा नष्ट गर्नुपर्ने भएकाले प्राविधिक र कामदारहरूलाई ठूलो चुनौती थपिएको छ ।
यता मोरङको बूढीगंगा गाउँपालिकामा रहेको पूर्वाञ्चल ग्रुपको पोल्ट्री फार्ममा पनि बर्डफ्लु फैलिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र मोरङका प्रमुख डा. अजय कुमार शाहका अनुसार उक्त फार्ममा ७२ हजार कुखुरा रहेका छन् । ‘केही कुखुरा मरेका छन्, बाँकी रहेका सबै कुखुरालाई आजै नष्ट गर्ने तयारी पूरा भएको छ,’ उनले भने । मोरङ र सुनसरीका यी दुई ठूला घटनाले समग्र प्रदेशकै पोल्ट्री उद्योगलाई त्रसित बनाएको छ । लगभग ४५ हजार कुखुरा नष्ट गरीने भेटेरिनरी अस्पताल मोरङले जनाएको छ ।
कुखुरा नष्ट गर्ने प्रक्रियाका बारेमा जानकारी दिँदै डा.महतोले बर्डफ्लु संक्रमित कुखुरालाई कुनै औषधि प्रयोग गरेर मार्न नपाइने बताए । उनले भने ‘कुनै पनि रसायन वा औषधिको प्रयोग गरेर कुखुरा नष्ट गर्न मिल्दैन । टाउकोमा हिर्काएर कुखुरा नष्ट गरिन्छ । त्यसपछि गहिरो खाल्डो खनेर चुन र ब्लिचिङ पाउडर प्रयोग गरी सुरक्षित तरिकाले पुर्नुपर्छ ।’ झण्डै डेढ लाखभन्दा बढी कुखुरा मारेर खाल्डोमा पुर्नका लागि डोजरहरूको समेत प्रयोग गरिएको छ ।
सुनसरीमा बर्डफ्लुको प्रकोप भयावह बन्दै गएको देखिएको छ । डा. महतोका अनुसार अहिलेसम्म प्रभावित क्षेत्रहरुमा २ लाखभन्दा बढी कुखुरा यसअघि नै नष्ट गरिसकिएको छ । आजको ठूलो स्केलको कारबाहीपछि यो संख्या अझै बढ्नेछ ।
कोशी प्रदेशका यी ठूला फार्महरूमा भएको क्षतिले अर्बौंको लगानी जोखिममा परेको छ । स–साना किसानदेखि ठूला व्यावसायिक घरानासम्म बर्डफ्लुको चपेटामा परेका छन् । बैंकको ऋण लिएर व्यवसाय सुरु गरेका किसानहरू आफ्नो लगानी आँखा अगाडि नै नष्ट भएको देख्दा मर्माहत भएका छन् । यद्यपि, सरकारले बर्डफ्लुका कारण नष्ट गरिएका कुखुराको ७५ प्रतिशतसम्म राहत उपलब्ध गराउने कानुनी व्यवस्था भए पनि प्रक्रियागत ढिलाइ र राहतको सीमित बजेटका कारण किसानहरू चिन्तित छन् । मोरङका पनि १० वटा प्रभासिवत क्षेत्रमा डेट लाख भन्त्दा बढी कुखुरा नष्ट गरीसकिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र मोरङले जनाएको छ ।
अहिले प्रशासनले प्रभावित क्षेत्रलाई सिल गरेको छ र कुखुराजन्य पदार्थ (मासु, अण्डा, दाना) ओसारपसारमा कडा प्रतिबन्ध लगाएको छ । विज्ञहरूले आम उपभोक्तालाई मासु राम्ररी पकाएर मात्र खान र फार्ममा जैविक सुरक्षा का उपायहरू कडाइका साथ अपनाउन सुझाव दिएका छन् ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।