लोड हुँदैछ...

मेनु

ताप्लेजुङमाबर्डफ्लु सतर्कता: संक्रमित जिल्लाबाट पन्छीजन्य वस्तु आयातमा पूर्ण रोक

ताप्लेजुङमाबर्डफ्लु सतर्कता: संक्रमित जिल्लाबाट पन्छीजन्य वस्तु आयातमा पूर्ण रोक

ताप्लेजुङ । बर्डफ्लु संक्रमण भित्रिन नदिन ताप्लेजुङमा सवारीसाधन जाँच कडाइ गरिएको छ। जिल्ला प्रशासन कार्यालयले निषेधित सामग्री आयात भए नियन्त्रणमा लिएर नष्ट गर्ने र संलग्न व्यक्तिलाई कारबाही गर्ने जनाएको छ।

बर्डफ्लु संक्रमण देखिएका झापा, मोरङ र सुनसरीबाट पन्छी तथा पन्छीजन्य वस्तु ल्याउन पूर्ण प्रतिबन्ध लगाइएको छ। यी जिल्लामा संक्रमण फैलिन थालेपछि ताप्लेजुङमा उच्च सतर्कता अपनाइएको हो।

भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय ताप्लेजुङका प्रमुख रोशन दाहालका अनुसार जिल्लामा हालसम्म बर्डफ्लुको कुनै संक्रमण पुष्टि भएको छैन। शनिबार सदरमुकामका १९ वटा फर्म तथा मासु पसलबाट नमुना संकलन गरी गरिएको स्क्रिनिङ परीक्षणमा पनि कुनै भाइरस फेला नपरेको उनले बताए। नमुनामा एभियन इन्फ्लुएन्जा भाइरसको एन्टिजेन परीक्षण गरिएको थियो।

जिल्ला बर्डफ्लु नियन्त्रण समितिको बैठकले संक्रमण भित्रिन नदिन सबै चेकपोइन्टमा कडा निगरानी गर्ने निर्णय गरेको छ। प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईंको अध्यक्षतामा बसेको बैठकले पन्छीजन्य वस्तु भित्रिएको पाइए तत्काल नष्ट गर्ने निर्णयसमेत गरेको छ।

अर्को सूचना नआउन्जेलसम्म संक्रमित जिल्लाबाट पन्छीजन्य वस्तु नल्याउन निर्देशन दिइएको छ। साथै जिल्लाभरका मासु पसल, पोल्ट्री फर्म र एग्रोभेटहरूमा समेत निगरानी बढाइएको भेटेरिनरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।