विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्ने भएको छ । आज दिउँसो साढे ३ बजे पार्टीको केन्द्रीय कार्यालयमा बैठक बस्ने तयारी गरिएको छ ।
बैठकमा पार्टीको महाधिवेशनको तयारी र संगठन विस्तार गर्ने विषयमा छलफल हुने बताइएको छ । त्यसका लागि विभिन्न ६ एजेण्डामा केन्द्रित हुने गरी बैठक बस्न लागेको हो ।
बैठकमा विशेषगरी जिल्ला अधिवेशन कार्यविधि २०८३ माथि छलफल गर्ने, महाधिवेशन कार्यविधि मस्यौदा समिति गठनका विषयमा निर्णय हुने, पार्टीको आर्थिक पारदर्शिता र व्यवस्थापनका लागि बैंक खाता सञ्चालन सम्बन्धमा पनि छलफल हुने कार्यसूचीमा उल्लेख छ।
पार्टीको संरचनालाई पूर्णता दिने क्रममा केन्द्रीय आयोग, सल्लाहकार परिषद्, संघीय नेतृत्व मञ्च र विभिन्न विभागहरूमा गरिने मनोनयनका विषयमा पनि सचिवालयले निर्णय लिनेछ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।