लोड हुँदैछ...

मेनु

प्रहरी निरीक्षक मोतीलाल योञ्जन ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित

प्रहरी निरीक्षक मोतीलाल योञ्जन ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित

विराटनगर । कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरले झापाको भद्रपुरस्थित वडा प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक मोतीलाल योञ्जन तामाङलाई २०८२ साल चैत महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ (वेस्ट पुलिस अफ द मन्थ) घोषित गरेको छ।

विभागीय मूल्यमान्यता र निर्देशनको पालना गर्दै उच्च मनोबल, साहस र प्रभावकारी कार्यसम्पादन गरेको मूल्याङ्कनका आधारमा उनलाई उक्त सम्मान प्रदान गरिएको हो।

तामाङले ‘अपरेसन ब्राउन’ अभियानअन्तर्गत भद्रपुर क्षेत्रमा लागुऔषध नियन्त्रणलाई तीव्र बनाउँदै चैत महिनाभर उल्लेखनीय सफलता हासिल गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । अभियानका क्रममा लागुऔषधसम्बन्धी १५ वटा मुद्दामा संलग्न ३२ जना अभियुक्तलाई उनकै अगुवाइमा पक्राउ गरिएको थियो। पक्राउ परेकाबाट ३४६ ग्राम ५७ मिलिग्राम ब्राउन सुगर र ३ लाख रुपैयाँ नगद बरामद गरिएको प्रहरीले जनाएको छ।

त्यसैगरी, भन्सार छलीका करिब १० लाख ४७ हजार रुपैयाँ बराबरका विभिन्न अवैध सामानसमेत नियन्त्रणमा लिइएको थियो। सोही अवधिमा विभिन्न मुद्दामा फरार रहेका ९ जना प्रतिवादीलाई समेत पक्राउ गर्न तामाङ नेतृत्वको टोली सफल भएको थियो।

तामाङले जेनजी आन्दोलनका क्रममा क्षति पुगेको वडा प्रहरी कार्यालय भद्रपुरको भवन, ब्यारेक तथा कार्यालय पुनर्स्थापनामा पनि सक्रिय भूमिका खेलेका थिए। स्थानीय तह र समुदायसँग समन्वय गर्दै आवश्यक पूर्वाधार पुनर्निर्माण, फर्निचर तथा विद्युत् सामग्री व्यवस्थापनमा उनले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए।

प्रहरी चौकी मेचीपारिका लागि नयाँ जग्गा प्राप्ति, वडा प्रहरी कार्यालय भद्रपुरको नयाँ भवन निर्माण पहल तथा सामुदायिक प्रहरी साझेदारी कार्यक्रममार्फत सचेतनामूलक गतिविधि सञ्चालन गरी शान्ति सुरक्षाप्रति जनविश्वास बढाउन उनले योगदान दिएको प्रहरीले जनाएको छ। कार्यसम्पादनको समग्र मूल्याङ्कनका आधारमा कोसी प्रदेशका प्रहरी प्रमुख डीआईजी विनोद घिमिरेले तामाङलाई उक्त सम्मान प्रदान गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।