लोड हुँदैछ...

मेनु

नेप्सेमा सामान्य सुधार, नयाँ सर्किट ब्रेकर नियम सोमबारदेखि लागू

नेप्सेमा सामान्य सुधार, नयाँ सर्किट ब्रेकर नियम सोमबारदेखि लागू

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजारको परिसूचक नेप्से ५.३६ अंकले बढेर २८३८ बिन्दुमा बन्द भएको छ। कारोबारको बीचमा नेप्से २८०९ बिन्दुसम्म झरे पनि अन्तिम समयमा सुधार हुँदै हरियो बन्द भएको हो।

अघिल्लो दिन ३३ अंकले घटेको बजारमा आज सामान्य सुधार देखिए पनि कारोबार रकम भने घटेको छ। बिहीबार ९ अर्ब ३१ करोड रुपैयाँको कारोबार भएकोमा शुक्रबार ७ अर्ब ४६ करोड रुपैयाँमा सीमित रह्यो।

आज बजार बढे पनि अधिकांश कम्पनीको सेयर मूल्य घटेको छ। १०८ कम्पनीको मूल्य बढ्दा १५० कम्पनीको घटेको र १२ कम्पनी स्थिर रहेका छन्। ठूला पूँजी भएका कम्पनीको मूल्य वृद्धि हुँदा समग्र नेप्से परिसूचक भने सकारात्मक बनेको हो।

उत्पादन तथा प्रशोधन समूह सबैभन्दा धेरै १.४० प्रतिशतले बढेको छ। होटल तथा पर्यटन १.३८ प्रतिशत, जलविद्युत ०.६७ प्रतिशत, अन्य ०.५६ प्रतिशत र व्यापार समूह ०.०३ प्रतिशतले बढेका छन्। बैंकिङ, विकास बैंक, फाइनान्स, लगानी, जीवन बीमा, माइक्रोफाइनान्स र निर्जीवन बीमा समूहका सूचक भने सामान्य घटेका छन्।

आज पाँच कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ। पाल्पा सिमेन्ट, होटल फरेस्ट इन, रिजलाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक र शिखर पावरका लगानीकर्ताले उच्च लाभ कमाएका छन्। कालिका पावर, रिलायन्स स्पिनिङ मिल्स र सोलु हाइड्रोपावरको मूल्य पनि उल्लेख्य रूपमा बढेको छ भने एसियन हाइड्रोपावर सबैभन्दा धेरै घटेको छ।

कारोबार रकमका आधारमा नेशनल हाइड्रोपावर, सोलु हाइड्रोपावर, रिडी पावर, रिलायन्स स्पिनिङ मिल्स र हिमाल दोलखा हाइड्रोपावर शीर्ष स्थानमा रहेका छन्।

यसैबीच, नेपाल स्टक एक्सचेन्जले सोमबारदेखि नयाँ सर्किट ब्रेकर प्रणाली लागू गर्ने भएको छ। नयाँ व्यवस्थाअनुसार कारोबार सुरु भएको दुई घण्टाभित्र नेप्से ५ प्रतिशतले घटे वा बढेमा १५ मिनेटका लागि कारोबार रोकिनेछ। यस्तै, कुनै पनि समयमा ८ प्रतिशतले बजार घटबढ भएमा सो दिनका लागि सम्पूर्ण कारोबार बन्द हुनेछ।

नयाँ नियमअनुसार कम्पनीहरूको दैनिक मूल्य उतारचढाव सीमा १० प्रतिशतबाट बढाएर १५ प्रतिशत पुर्‍याइएको छ। साथै, प्रारम्भिक कारोबार सत्रमा मूल्य परिवर्तनको सीमा पनि विस्तार गरिएको छ।

यस परिवर्तनले बजारलाई थप व्यवस्थित, पारदर्शी र स्थिर बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।