लोड हुँदैछ...

मेनु

महानगरको निर्देशनपछि पोखरियाको प्रवेश परीक्षाको नतिजा स्थगित

महानगरको निर्देशनपछि पोखरियाको प्रवेश परीक्षाको नतिजा स्थगित

विराटनगर । विराटनगरस्थित पोखरिया माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८३ का लागि लिएको नयाँ भर्ना प्रवेश परीक्षाको नतिजा प्रकाशन स्थगित गरेको छ।

विद्यालयले सूचना जारी गर्दै अर्को आदेश नभएसम्म परीक्षाफल रोकिएको जनाएको हो।

विद्यालय प्रशासनका अनुसार विराटनगर महानगरपालिका शैक्षिक प्रशासन महाशाखाबाट चैत ३० गते प्राप्त निर्देशनका आधारमा नतिजा प्रकाशन स्थगित गरिएको हो। सोही निर्देशनअनुसार विद्यालयले तत्काल नतिजा सार्वजनिक नगर्ने निर्णय गरेको जनाएको छ।

संघीय सरकारको निर्देशन विपरित विद्यालयले चैत २८ गते नयाँ शैक्षिक सत्रका लागि विद्यार्थी छनोट गर्न प्रवेश परीक्षा सञ्चालन गरेको थियो। तर, महानगरको पत्राचारपछि नतिजा प्रकाशन प्रक्रिया रोकिएको हो। संघीय सरकारले भने वैशान १५ गतेबाट मात्र नयाँ शैक्षिक सत्र सुरु हुने निर्देशन जारी गरेको छ ।

जारी सूचनामा परीक्षाफल सम्बन्धी थप जानकारी विद्यालयको आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गरिने उल्लेख गर्दै विद्यार्थी तथा अभिभावकलाई नियमित रूपमा पेज हेर्न अनुरोध गरिएको छ । निर्धारित समयमा नतिजा सार्वजनिक हुन नसक्दा पर्न गएको असुविधाप्रति विद्यालयले क्षमासमेत मागेको छ।

विराटनगरको प्रतिष्ठित सरकारी विद्यालयका रूपमा चिनिने पोखरिया माध्यमिक विद्यालयमा भर्ना हुन प्रत्येक वर्ष ठूलो संख्यामा विद्यार्थीको प्रतिस्पर्धा हुने गर्दछ। यो वर्ष मात्रै करिब २२ सयभन्दा बढी विद्यार्थीले प्रवेश परीक्षा दिएका प्रधानाध्यापक खेमराज भट्टराईले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।