लोड हुँदैछ...

मेनु

इन्धनको मूल्य एक महिनामा ६६ प्रतिशत बृद्धि, अचाक्ली बढ्दै महंगी

इन्धनको मूल्य एक महिनामा ६६ प्रतिशत बृद्धि, अचाक्ली बढ्दै महंगी

विराटनगर । पछिल्लो एक महिनामा नेपाल आयल निगमले ६० प्रतिशतसम्मम पेट्रोलियम पदार्थको मूल्य बढाएपछि नागरिकको जनजीवन प्रभावित हुन थालेको छ ।

अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भएको भन्दै निगमले डिजेल र पेट्रोलको मूल्यमा उच्च बृृद्धि गरेको छ ।

निगमले बिहीबारदेखि लागू हुने गरी डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ वृद्धि गरेपछि डिजेलको मूल्य करिब २३७ रुपैयाँ पुगेको छ। चैत १ गते १४२ रुपैयाँ रहेको डिजेलको मूल्य छोटो अवधिमै करिब ६६ प्रतिशतले बढेको हो। पेट्रोलको मूल्य पनि सोही अवधिमा १५७ रुपैयाँबाट बढेर २१९ रुपैयाँ पुगेको छ, जुन झण्डै ४० प्रतिशतको वृद्धि हो।

अमेरिका–इजरायल गठबन्धन र इरानबीचको तनावका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढ्दा नेपालजस्ता आयातमा निर्भर मुलुकमा प्रत्यक्ष असर परेको सरकारको दावी छ। आन्तरिक हवाई इन्धनको मूल्य पनि बढेर २५६ रुपैयाँ प्रतिलिटर पुगेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई भाडासमेत समायोजन गरिसकेको छ।

इन्धनको मूल्यमा बृद्धिसँगै अब काठमाडौं–भैरहवा उडानको अधिकतम भाडा ११ हजार १६ रुपैयाँ पुगेको छ भने काठमाडौं–धनगढी रुटमा २३ हजार ५९ रुपैयाँसम्म तिर्नुपर्ने भएको छ। इन्धन मूल्य वृद्धिको असर स्थल यातायातमा पनि देखिएको छ। यातायात व्यवस्था विभागले यात्रुवाहक सवारीको भाडा १६.७१ प्रतिशत, पहाडी मालवाहक सवारीको २१.६८ प्रतिशत र तराई क्षेत्रमा सञ्चालन हुने मालवाहक सवारीको भाडा १५.७५ प्रतिशतले बढाएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार इन्धनको मूल्य वृद्धि सीधा उपभोक्ता मूल्यमा असर पार्ने प्रमुख कारक हो । अध्ययनअनुसार इन्धनको मूल्य १०० रुपैयाँ बढ्दा वस्तुको औसत मूल्य करिब १.५ रुपैयाँले बढ्छ । ढुवानी भाडा १०० रुपैयाँ बढ्दा भने उपभोक्ता वस्तुको मूल्य ६ रुपैयाँ २५ पैसासम्म बढ्न सक्छ ।

पछिल्लो समय ढुवानी भाडा करिब २२ प्रतिशत बढिसकेको छ र थप बृद्धि हुने संकेत देखिएको छ। यसको प्रत्यक्ष असर दैनिक उपभोग्य वस्तु—चामल, दाल, तेल, तरकारी लगायतमा देखिन थालेको व्यवसायीहरूको भनाइ छ। नेपालमा अधिकांश वस्तु तराई तथा भारतबाट आयात हुने भएकाले ढुवानी खर्च बढ्दा बजार मूल्य स्वतः बढ्ने अवस्था बनेको छ।

इन्धन मूल्य वृद्धिले निर्माण क्षेत्रमा झन् ठूलो असर पारेको छ । निर्माण व्यवसायीका अनुसार सडक, पुल र जलविद्युत् जस्ता परियोजनामा इन्धन र ढुवानी खर्चको हिस्सा ठूलो हुने भएकाले लागत २५ प्रतिशतसम्म बढ्न सक्ने देखिएको छ। भारी उपकरण र मेसिनरी पूर्ण रूपमा डिजेलमा निर्भर हुने भएकाले निर्माण कार्य प्रभावित भएको छ।

सरकारले भन्सार शुल्क र पूर्वाधार करमा केही कटौती गरेपनि त्यसबाट उपभोक्ताले राहत पाएनन् । बरु त्यसपछि दुई पटक मूल्यबृद्धि भइसकेको छ । निरन्तरको मूल्यवृद्धिले महँगी थप बढ्ने र आर्थिक गतिविधिमा दबाब पर्ने संकेत देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।